काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकारे मिलेर नयाँ ढङ्गबाट अघि बढ्न सकिने बताएका छन् ।
पार्टीले विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा बनेपामा शनिवार (आज) गरेको शुभकामना आदानप्रदान एवम् जिल्ला कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘ओलीले प्रतिनिधि सभा विघटन गरेर गल्ती गरे । पार्टीमा गलत तरिका अपनाए’, अध्यक्ष नेपालले भने, ‘देशलाई राम्ररी हाँक्न सकेनन् । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो । यी सबै कुराको जिम्मेवारी लिएर गल्ती स्वीकार्न तयार भएमा ओलीसँगको सहकार्यलाई नयाँ ढंगले सोच्न सकिन्छ ।’
अध्यक्ष नेपालले पार्टी विभाजन भएपनि अझै ओलीसँग सहकार्य हुनसक्ने बताएका छन् । सम्बोधनका क्रममा नेपालले ओली सुध्रिने आशा आफूले नराखेको पनि बताए ।
यस्तै अध्यक्ष नेपालले सम्बोधनका क्रममा आफूहरु कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको उत्तराधिकारी रुपमा प्रस्तुत गरे । ‘कम्युनिष्ट पार्टीमा नेता हैन नीति र विचार प्रधान हुन्छ,’ अध्यक्ष नेपालले भने, ‘उहाँले नै सिकाउनुभएको हो । अहिले हामीले त्यसलाई अनुशरण गरिरहेका छौँ ।’
उनले सम्बोधका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवातिर लक्षित गर्दै नवगठित सरकारले गरेका गल्ती नदोहोर्याउन आग्रह गरे ।
प्रतिक्रिया