लेटेस्ट न्युज
advertisement1

सामाजिक सुरक्षा भत्ता अब  त्रैमासिक रुपमा वितरण हुने

Maryada News 2021-10-08 15:51:08
सामाजिक सुरक्षा भत्ता अब  त्रैमासिक रुपमा वितरण हुने

काठमाडौं : सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक रुपमा वितरण हुने भएको छ । यसअघि चौमासिक रुपमा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८÷७९ देखि सामाजिक सुरक्षा भत्ताको निकासा त्रैमासिक रुपमा हुने व्यवस्था गरेको छ । सोही नियमलाई चालु आवबाट कार्यान्वयनमा ल्याइने भएको हो । 

विभागले सबै स्थानीय तहलाई यस प्रकारको व्यवस्था मिलाउन भनेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले देशभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३४ लाख ६५ हजार ७ सय १३ जना रहेको छ । सरकारले सामाजिक सुरक्षामा वार्षिक १ खर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

सामाजिक सुरक्षा भत्ता वृद्धि

सरकारले चालु आर्थिक वर्षको बजेट अध्यादेशबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । बजेटमार्फत सरकारले वृद्धभत्ता ४ हजार र अन्य सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको हो ।

चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो किस्ता बुझ्ने नागरिकले बढेको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् । बढेको सामाजिक सुरक्षा भत्ता अनुसार अब ७० वर्ष पुगेका सबै जेष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ प्राप्त गर्छन् ।

साविकको कर्णाली अञ्चलका जिल्ला र देशभरका दलित समुदायका ६० वर्ष उमेर पुगेका सबै नागरिकले मासिक २,६६० रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायीक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष माथिका महिलाले समेत मासिक २,६६० रुपैयाँ भत्ता पाउनेछन् ।

पतिको मृत्यु भएका जुनसुकै उमेरका महिलाले समेत २,६६० रुपैयाँ मासिक प्राप्त गर्छन् । सम्बन्धित निकायबाट ‘क’ वर्ग (रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका सबै उमेरका नागरिक)ले मासिक ३,९९० रुपैयाँ भत्ता पाउने गरी वृद्धि भएको छ ।

अतिअशक्त (सम्बन्धित निकायबाट ‘ख’ वर्ग अर्थातः निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका सबै नागरिकले २,१२८ रुपैयाँ भत्ता पाउने गरि तोकिएको छ । कुसुण्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया र कुचबधिया जातिका नागरिकलाई समेत सरकारले मासिक ३,९९० रुपैयाँ भत्ता दिने गरेको छ ।

नेपाल सरकारले तोकेका क्षेत्र र देशभरका दलित परिवारमा ५ वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानले समेत मासिक ५३२ रुपैयाँ पाउने गरी सामाजिक सुरक्षा भत्ता वृद्धि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्