लेटेस्ट न्युज
advertisement1

बिनाअनुमति एसिड बिक्री, अनुगमन फितलो

Maryada News 2021-08-21 15:53:14
बिनाअनुमति एसिड बिक्री, अनुगमन फितलो

रौतहट : एसिड आक्रमणमा परेर चन्द्रपुर नगरपालिकामा ३ जना पीडित छन् । एक जनाको ज्यान गइसकेको छ। चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ र ६ मा ३ जना एसिडले पोलेको घाउको पीडा सहेर बाँचिरहेका छन् । चन्द्रपुरमा सुनचादी पसल संचालक दिपक विकले श्रीमती  दिपिकालाई घरायसी झगडामा गएको जेठमा एसिड छ्याप्न खोजे ।

एसिड बोकेको भाडा तानातानमा  दिपिकाको शरिरमा एसिड खस्यो । उनी घाइते भइन । दिपकलाई पनि एसिडले सामान्य पोल्यो । दुई वर्षअघि चन्द्रपुर–६ मा दुई जना दिदी बहिनी एसिड आक्रमणमा परे । त्यसअघि चन्द्रपुर–६ कै ६० वर्षीय रामदेव महत्तोमाथि एसिड आक्रमण भएको थियो । एसिड आक्रमणबाट उनको दुवै आँखा गुमे । अनुहार पुरै डढेको छ भने शरिरका अन्य भाग पनि डढेको छन् ।

उनी राम्ररी बोल्न सक्दैनन् । २०६६ साल साउनमा घरमा सुतिरहेका उनलाई के करणले कसले एसिड प्रहार गर्‍यो भन्ने उनको परिवार अहिले सम्म अनभिज्ञ छ । पीडित महतोका छोरा लक्ष्मण बुवाको अवस्था देखेर धेरै पीडा हुने बताउछन् ।

यस्तै २०७५ भदौ १६ गते चन्द्रपुर ६ कि सुस्मिता र सम्झना दासलाई राति सुतिरहेको अवस्थामा एसिड छ्यापियो । छिमेकी रामबाबु पासवानले एसिड प्रहार गरेको आरोप छ । आरोपी पासवान पुर्पक्षका लागि जेलमा छन् । सम्झनाको उपचारको क्रममा घटनाको केही दिन पछि ज्यान गयो । सुस्मिता एसिडको दाग बोकेर बाँचिरहेकी छिन् । उनको हातमा दाग छ ।

एसिड प्रहार गर्नेलाई हदै सम्मको कारबाही हुनुपर्ने उनको माग छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७७ ले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गर्न चाहने व्यक्तिले तोकिएको कार्यालयबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपोसार वा बिक्री वितरण गर्दा पालना गर्नुपर्ने शर्त उल्लेख गरी  १५ दिनभित्र तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नुपर्ने व्यवस्था अध्यादेशमा छ । मानव शरिरमा गम्भीर हानी नोक्सानी पुर्‍याउन सक्ने एसिड बिनाअनुमति रौतहटमा बिक्री भइरहेको पाइएको छ ।

रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी वसन्त भण्डारी रौतहटमा एसिड बिक्री गर्न कुनै पनि बिक्रेतालाई अनुमति नदिइएको बताउछन्। केही दुग्ध संकलन गर्ने डेरीहरु र  एउटा ब्याट्री उद्योग र दुईवटा कारखानालाई मात्रै एसिड खरिद गर्ने स्वीकृति दिएको र अध्यादेश आएपछि कसैलाई पनि एसिड उत्पादन वा बिक्री गर्ने अनुमति नदिएको भण्डारीले जानकारी दिए ।

बिनाअनुमति जथाभावी रुपमा एसिड बिक्री गर्ने पसलको अनुगमन गर्नुपर्ने आवाज बेला बेलामा उठ्ने गरेको छ । उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा अन्य कुनै फर्म, कम्पनि वा व्यक्तिले मात्र अनुमत िलिएर एसिड खरीद गर्न पाउने नियम छ । अध्यादेशबाट भए पनि एसिड आक्रमणकारीहरुलाई सजाय हुने कानुन बनेको छ ।

एसिड पीडितहरुको न्यायका लागि आवाज उठाउँदै आएका अभियान्ता उज्वल बिक्रम थापा एसिडको बिक्री बितरण कसरी भइरहेको छ भनेर अनुगमन  हुनुपर्ने, नागरिक पनि सचेत हुनुपर्ने बताउछन् ।

केही हार्डवेयर पसल, व्याट्री पसल, सुन पसलहरुमा अनुमती नलिई एसिड राखिएको पाइन्छ । बजारमा एसिड बिक्री बितरणको अवस्थाको बारेमा अनुगमन हुनुपर्ने माग जनस्तरबाट पनि उठ्न थालेको छ । जथाभावी एसिड बिक्री गर्नेलाई नियम अनुसार कारबाही हुनुपर्नेसमेत एसिड पीडितका आफन्तहरुले माग गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्