सुर्खेत : अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा समायोजन भएकाहरुले क्रियाशील सदस्यता नपाएको गुनासो गरेका छन् । आफूहरुलाई केन्द्रीय समितिको निर्णय अनुसार नै क्रियाशील सदस्यता दिने भनिए पनि जिल्लामा क्रियाशिल सदस्यता नपाएको गुनासो गरेका हुन् ।
कांग्रेसमा १४औं महाधिवेशनको वडा तहको अधिवेशनको चर्चा चलिरहेको बेला अझै क्रियाशील सदस्यता फाइलन गर्न नसकेको भन्दै अन्य दलबाट पार्टीमा समायोजन भई आएका कार्यकर्ताहरुले यस्तो गुनासो गरेका हुन् ।
क्रियाशील सदस्यता वितरणमा जिल्लाका नेता लगायत केही केन्द्रीय सदस्य तथा वडा तहका नेताहरुले गुटगत राजनीतिका आधारमा आफूलाई भेदभाव गर्न खोजेको अखण्ड नेपाल पार्टीका तत्कालीन महासमिति सदस्य तथा केन्द्रीय सदस्य प्रेम प्रकाश खड्काले बताए ।
‘मलाई महामन्त्री पुर्णबहादुर खड्काको भाइ भएको र उहाँको निर्देशन अनुसार जिल्लामा केही पदाधिकारीलाई कम्फर्टेवल गराउने गरी सदस्यता माग गरेको आरोप लागेको छ’, उनले भने, ‘म तत्कालीन अवस्थामा समायोजन भई आएको पार्टी र कांग्रेस केन्द्रीय समितिको समायोजनसम्वन्धि परिपत्रका आधारमा क्रियाशिल सदस्यताको माग गर्दछु ।’ क्रियाशील सदस्यता नपाएपछि नेता खड्काले केन्द्रीय समितिमा समेत उजुरी गरेका छन् ।
अखण्ड नेपाल पार्टी २०७४ कार्तिक ११ गते पोखरामा सम्पन्न एक कार्यक्रममा नेपाली कांग्रेसमा बिलय भएको थियो । सो पार्टीका केन्द्रीय अध्यक्ष कुमार खड्कालाई नेपाली कांग्रेसले सम्वोधन गरी लेखेको पत्रमा समेत २३ वटा जिल्लाका १ हजार ५६ जना नेता कार्यकर्तालाई समायोजन समितिको निर्देशन अनुसार क्रियाशील सदस्यता दिइने उल्लेख छ । पोखरामा भएको कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांख कोइराला, वरिष्ठ नेता गोपालमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
अन्य दल समायोजन समितिको सभापति बिमलेन्द्र निधीले जिलालाई पठाएको परिपत्रमा समेत स्पष्ट रुपमा क्रियाशील सदस्यतका बारेमा उल्लेख गरिएको भएपनि सो विपरित सुर्खेतमा गुटगत र आफू अनुकुल गराउने गरी सदस्यता बाँडिएको नेता खड्काको आरोप छ । उनले महामन्त्री खड्कासँग जोडेर हेर्नु, महामन्त्रीलाई बद्नाम गराउन खोज्नु बाहेक केही नभएको बताए ।
कांग्रेसमा विलय भएका अखण्ड नेपाल पार्टी का नेता तथा कार्यकर्ता सुर्खेत लगाएत धेरै स्थान मा काग्रेसको अब्यवहारिकता र अनिर्णयको वन्दिमा परेको भन्दै उनले आँफुहरु काग्रेसको गुटगत राजनितीक खिचातानी को तारो बनेको बताए ।
क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले विरोध समेत जनाइरहेको अवस्थामा अखण्ड नेपाल पार्टीबाट कांग्रेसमा आएका कार्यकर्ताले आफूहरु कुनै गुट वा उपगुट भन्दा पनि केन्द्रिय समितिको जिल्लालाई गरिएको परिपत्रका आधारमा क्रियाशिल सदस्यता पाउनुपर्ने बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गत मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बसी विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्ने गरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया