काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता सिर्जना गर्न खोजिएकाले निर्वाचनमार्फत् लाेकतन्त्र बलियो बनाउनुपर्ने दायित्व आएको बताएका छन्। ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ओलीले देश जोगाउन नयाँ निर्वाचनमा जानु परेको बताएका हुन्।
सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- ‘प्रणालीभित्रैबाट लोकतन्त्रलाई अस्थिरतातर्फ लैजान खोज्ने र कुबाटोमा धकेल्ने चेष्टाबाट मुलुकलाई अघि बढ्न निर्वाचनमा जानु परेको छ। यसमा सबै निकायले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ। लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीं कतैबाट नहोस्।’
सोही अवसरमा प्रधानमन्त्री ओलीले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी विभिन्न समूहलाई पनि संविधानभित्रको मूल प्रवाहमा आउन आह्वान गरेका छन् । नेत्र विक्रम चन्द विप्लवसँग सरकारले वार्ता प्रयास गरेकाे कुरा बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले सार्वजनिक समाराेहमै यस्ताे अभिव्यक्ति दिनुलाई महत्वका साथ हेरिएकाे छ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटालगायतले आफ्नाे मन्तव्य व्यक्त गरेका थिए।
प्रतिक्रिया