कास्कीः मुख्यमन्त्रीविरुद्ध अविश्वासकाे प्रस्ताव ल्याउने दलहरूले आफ्ना सांसदलाई रिसाेर्टमा लगेर राखेका छन्। गण्डकी प्रदेशकाे प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुने मिति नजिकिएसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले आफ्ना सांसदहरूलाई रिसोर्टमा राखेको हो।
यसअघि कर्णाली प्रदेशमा अविश्वास दर्ता गराएका एमालेकै सांसदले फ्लाेर क्रस गर्दा अविश्वासकाे प्रस्ताव टुंगिएकाे थियाे भने लुम्बिनी प्रदेशमा अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेकै चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले सरकारमा सहभागी गराएपछि त्यहाँ पनि अविश्वास प्रस्ताव टुंगिएकाे थियाे। साेही घटनाबाट तरङ्गित भएका दलले गण्डकी प्रदेशमा चलखेल राेक्न भन्दै आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका हुन्।
जसअनुसार कांग्रेस र माओवादी केन्द्रका सांसदहरू लेकसाइडस्थित कुटी रिसोर्टमा बसेका छन्। यता जसपा नेपालकाका सांसद भने छुट्टै बसेका छन्।
गण्डकी प्रदेशसभामा ६० जना सांसद छन्। मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउनका लागि कम्तीमा ३१ मत आवश्यक पर्छ। संसदमा अविश्वास प्रस्ताव पारित गर्न पनि कम्तीमा ३१ मतकाे आवश्यकता हुन्छ। हालकाे समिकरणअनुसार अविश्वास प्रस्ताव पारित हुने सम्भावना बढ्दाे रहेकाे छ।
प्रतिक्रिया