काठमाडाैंः गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो।
यससँगै बादलकाे गृहमन्त्रीकाे पद पनि स्वतः गुमेकाे छ। यद्यपि उनले आजै पुनः गृहमन्त्रीकाे शपथ लिने भएका छन्। गैर सांसद ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधानअनुसार उनले पुनः गृहमन्त्रालय सम्हाल्ने भएका हुन्। आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा उनको शपथ ग्रहणको कार्यक्रम रहेकाे बताइएकाे छ।
राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज आइतबार स्वीकृत गरेका हुन्। यस्तै संसद सचिवालयले राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको जनाएको छ।
प्रतिक्रिया