काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुनले ७१ औं प्रजातन्त्र दिवस मनाइरहँदा प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिनु दुःखद् रहेको बताएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमार्फत् उपराष्ट्रपति पुनले यस्तोे धारणा सार्वजनिक गरेका हुन्।
पटक–पटकको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरेको संविधान जारी भएपछि मुलुक विकास र समृद्धिको मार्गमा दु्रत्ततर गतिमा अगाडि बढ्नेमा विश्वस्त रहेका जनतामा निराशा, आक्रोश र अन्यौलता छाउनु सुखद पक्ष नभएको उपराष्ट्रपति पुनले सन्देशमा उल्लेख गरेका छन् ।
उनले सार्वभौम नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत् निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ हामी नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिन भएको बताएका छन् ।
२००७ सालमा प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र संघर्ष गर्नुपरेको कुरा विशेष स्मणीय रहेको उनले बताएका छन् ।
प्रतिक्रिया