काठमाडौं-गण्डकी प्रदेश सरकार गठन भएको आज ३ वर्ष पूरा भएको छ।
३ वर्ष पूरा गरेपछि याे प्रदेशले पनि उपलब्धिको लामो सूची सार्वजनिक गरेको छ। जसमा कानुन, कार्यविधि निर्माणदेखि नियमित हुने सडक, बिजुली, खानेपानी र पुल निर्माण आदीलाई सरकारले ठूलो उपलब्धि मानेको छ। यो प्रदेशले अहिलेसम्म ४७ वटा ऐन निर्माण गरेको बताएको छ।
त्यसैगरी बिकास निर्माणको लामो विवरण प्रस्तुत गरिएको छ। प्रदेशभित्र पक्की (कालोपत्रे र ढलान) १ सय ३७ किलोमिटर र ग्राभेल २ सय ९२ किलोमिटर सडक निर्माण गरेको सरकारको मुख्य उपलब्धिको रुपमा देखाइएको छ। त्यस्तै, प्रदेशमा २११ सडक पुल निर्माण गर्ने लक्ष्यमध्ये ३४ सडक पुलहरू मात्र सम्पन्न भएका छन्।
गण्डकी विश्वविद्यालय स्थापना हुनु प्रदेशले अर्को उपलब्धि मानेको छ। जहाँ यो वर्षदेखि मेडिकल साइन्सको पढाइ सुरु हुने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको दाबी छ। प्रदेशमा संक्रामक तथा सरुवा रोग अस्पताल बनाएर सञ्चालनमा ल्याउन सकेको मुख्यमन्त्रीको भनाइ छ।
कोभिड–१९ को नियन्त्रण, व्यवस्थापन र उपचारमा सरकारले उपलब्धि हाँसिल गरेको उल्लेख छ। जिल्ला र अञ्चल अस्पतालहरुमा आइसियु जडान र स्तरोन्नति गर्ने काम भएको सरकारले उपलब्धि सार्वजनिक गरेको छ। सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको बताइएको छ।
विवरण हेर्दा यो प्रदेशले २ वर्षमा पूरा गर्ने भनेको लक्ष्य भने अझै पूरा गर्न सकेको छैन । जस्तो कि, गुरुङको पहिलो मन्त्रिपरिषद बैठकले २ वर्षभित्रै सबै घरधुरीमा खानेपानी र बिजुली पु¥याउने निर्णय गरेको थियो। तर अहिलेसम्म प्रदेशको ९१ प्रतिशत घरधुरीमा मात्र बिजुली पुगेको बताइएको छ। त्यसैगरी अहिलेसम्म २४३ खानेपानी आयोजनाको काम सम्मन्न भइसकेको र बाँकी काम चरणबद्धरुपमा भइरहेको जनाइएको छ।
त्यस्तै ५ वर्षभित्र सम्पन्न गर्ने भनिएको पहिलो मन्त्रिपरिषदको बैठकको निर्णय पनि अहिलेसम्म सुरु नै भएको छैन। ५ वर्षभित्र सुविधासम्पन्न सम्मेलन केन्ऽ बनाउने तथा क्यान्सर, मुटु र मिर्गौला उपचार गर्ने अस्पताल सञ्चालन गर्ने, प्रत्येक स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीमा जोड्ने, स्थानीय तहसँग सहकार्य गरेर बहुसांस्कृतिक गाउँ बनाउनेजस्ता निर्णय अलपत्र परेका पाइएको छ।
प्रतिक्रिया