काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैले खोप लगाउन पाउने भन्दै संयमित भएर खोप अभियानमा सहयोग गर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले साउन १५ गते भित्र नेपालमा थप ३२ लाख कोभिडविरुद्धको खोप आउने जानकारी दिँदै सबैले खोप लगाउन पाउने जानकारी दिएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउन १५ गते भित्र ३२ लाख तथा त्यसपछि निरन्तर खोपहरु नेपाल आउने क्रम जारी रहने जनाएको छ ।त्यस्तै स्वास्थ्य मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ । साथै यसअघि दोस्रो डोज खोप लगाउन छुटेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुका लागि पनि खोपको व्यवस्थापन गरिसकेको मन्त्रालयले जानकारी गराएको छ ।
नेपालमा हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो । खोपको आपूर्ति मजबुत हुँदै गएकोले छिट्टै सबैलाई खोप उपलब्ध हुने भन्दै मन्त्रालयले खोप अभियान सफल बनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया