कञ्चनपुरः भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन्।
बुधबार राति ८ः३० बजे एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो। तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो।
पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यस्तै मोबाइल लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्। वेदकोट–७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै जनाले भीमदत्त–६ का सुनिता सिंह र उहाँका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि बुधबार रौटेला मन्दिर गएका बेला उनीहरुको साथमा रहेको मोबाइल लुटपाट गरेका थिए।
प्रतिक्रिया