वीरगञ्ज, दुई समुदायबीच झडप भएपछि वीरगञ्जमा कर्फ्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ साढे ६ बजेदेखि आज दिउँसो १२ बजेसम्म कर्फ्यु लगाएको हो ।
शनिबार हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा वीरगञ्जको छपकैयामा दुई समुदायबीच झडप भएको थियो ।
झडपका क्रममा पसलहरूमा तोडफोड र आगजनी भएको थियो । झडपका क्रममा केही पसलहरूमा आगजनी भएको र स्थानीय बासिन्दा तथा प्रहरीसमेत घाइते भएका छन् ।
घटनापछि वीरगञ्जको अवस्था थप तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
दुई समुदायबीचको दोहोरो झडपलाई नियन्त्रणमा लिने २३ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाई फायर र १२५ राउन्ड अश्रुग्यास प्रहार गरेको खुलेको छ ।
घण्टाघरदेखि दक्षिणतर्फ वीरगञ्ज-३ छपकैयास्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि अज्ञात समूहले ढुंगा हानेको थियो ।
त्यसपछि तितरवितर भएका सहभागीले टायर बालेर प्रदर्शन गरे भने पसलका फर्निचर निकालेर जलाएका थिए ।
हनुमान जयन्तीका अवसरमा प्रत्येक वर्ष वीरगञ्जमा शोभायात्रा हुने गरेको छ ।
प्रतिक्रिया