तीन हप्ता जति अघिको कुरो हो बिहानै मलाई मेसेन्जरमा बझाङको मेरै गाउँपालिका पहाड घर भई विगत १० वर्ष देखि जापान बस्दै आएका मेरा मित्र रमेश थापाको कल आयो। जापानमा त मध्य राती भएको रहेछ। 'के छ रमेश जी सुत्नु भएन, तपाईँको त अहिले मध्यराति भयो होला ?' मैले सोधेँ।' नेपालमा गाउँ ठाउँमा समुदाय स्तरमा फैलँदै गएको कोभिड सङ्क्रमण र स्वास्थ्य सेवाको नाजुक अवस्था देखेर चिन्ता लागेको छ, निन्द्रै लागेन। अब देश विदेशका साथीहरू मिलेर बझाङमा स्वास्थ्य सामग्री सहयोग गरौँ भनेर हजुरलाई कल गरेकोू रमेश थापाजी ले भने। उहाँ लगायत देश विदेशमा बसेका बझाङ्गी दाजुभाइ चिन्तित थिए तर के गर्ने भन्नेमा द्विविधा थियो।
रमेश जीले ‘विश्व भरीका बझाङी एक होऔँ’ भन्ने नाराका साथ बझाङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत जनस्वास्थ्यकर्मीहरूसँग जिल्लामा ‘कोरोनाको वर्तमान अवस्था र आवश्यकता बारे भर्चुअल माध्यममा छलफल गर्न चाहेको बारेमा जानकारी गराउँदै जूममा यो कार्यक्रमको सहजकर्ता पनि बनी दिन अनुरोध गर्नुभयो । मैले सहर्ष स्वीकार गरेँ। त्यही आइतबार जूम छलफलमा सहभागी बझाङका स्थानीय तहका जनस्वास्थ्य संयोजकहरूले आ-आफ्नो क्षेत्रमा कोभिड सङ्क्रमितको सङ्ख्या, सुरक्षा उपकरण, औषधीको आपूर्ति र आवश्यकताको बारेमा जानकारी गराए।
कोभिड – १९ को महामारीसँग जुध्न बझाङ जिल्लाका अस्पताल र स्वास्थ्य चौकीहरूमा औषधी, पिपिई, गन थर्मोमिटर, अक्सिमिटर लगायत स्वास्थ्य सामग्रीको कमी रहेको बताउँदै सकिन्छ भने तिनको आपूर्ति गर्न मद्दत गर्न आग्रह समेत गरे।त्यो जूम छलफलमा बझाङ घर भई हाल जापान, अमेरिका, कोरिया, मलेसिया, अस्ट्रेलिया, भारत र नेपाल बस्दै आएका झन्डै ४ दर्जन युवा, जनस्वास्थ्यकर्मी, डाक्टर, विद्यार्थी लगायतको सहभागिता थियो।
कार्यक्रमपछि विभिन्न देशमा बसेका बझाङ्गी दाजुभाइहरूको मेसेन्जर समूह बनाई आफूले चिनेका साथीभाईहरुलाई जोडी सामूहिक सहयोग रकम सङ्कलन गरी बझाङको लागि स्वास्थ्य सामग्री खरिद गरी गैर नाफामूलक संस्था खप्तड छान्ना राइजिङ्ग अप लामातोलामार्फत् वितरण गर्ने भन्ने निर्णय भयो।
जापान, अमेरिका, कोरिया, मलेसिया, अस्ट्रेलियामा बस्ने बझाङ्गीहरूका मेसेन्जर समूहहरू बने। मैले अमेरिकामा सहयोग रकम सङ्कलन गर्न सहज होस् भनेर गो फन्ड मी लिङ्क बनाएँ र अमेरिकाको मेसेन्जर समूह, सामाजिक सञ्जाल र व्यक्तिगत रूपमा एसएमएस टेक्स्ट र मेसेजसँगै आफ्ना साथीहरूलाई पठाउन सुरु गरेँ। कहिलेकाहीँ मेसेन्जर समूहहरू र जम्मा सामूहिक कल गरेर चिनजान सहित फण्ड रेज तीव्र पार्दै लाग्यौँ।
अनि भेटिँदै गए दाता थरी थरीका !
दाता त दाता तर अमुक पार्टीका भ्राता :
यो बडा रमाइलो क्याटागोरी हो ! देशको विकृत राजनीतिले गरी खाने वातावरण नहुँदा बाध्य भएर बिदेसिएकाहरूले अझैँ झोला, झण्डा फाल्न नसकेको समूह हो यो । प्रवासमा बसेर पनि गुण दोषको आधारमा नेतृत्वको प्रशंसा गर्नु छोडेर सही होस् या गलत आफ्नै 'माउ पार्टी र नेताको' आँखा चिम्लिएर दिनरात भजन गाउनु यो समूहको विशेषता हो !
रात भरी करायो दक्षिणा हरायो भनेझैँ यो समूहले आफ्नो गाँस काटेर पठाएको राहत नेपालमा यिनका नेताले या त अपारदर्शी रूपमा आफै खान्छन्, वा आफ्ना आफन्त र आफ्ना पार्टीका सदस्यलाई मात्रै बाँड्छन् त्यो पनि तिनै नेताको नाम र फोटोको स्टिकर टाँसेर !
त्यागभन्दा ठूलो ट्याग, आफ्नो नाम नआए ब्याक
अरूले गरेको कामलाई आफूले नै गरे जस्तो गरेर देखाउन चाहने यो क्याटागोरीका सेवीहरू पद, आसन, भाषण र सञ्जालमा लाईक र मेन्सन पाउन जे पनि गर्छन् । ५० रुपैयाँ दान गरी सय जनालाई ट्याग गर्दै आफू र आफ्नो परिवारको पूर्ण कदको तस्बिर, बोल्ड अक्षरमा पुरा नाम, नेपाल र विदेश बसोबास गर्दै आएको पुरा ठेगाना सहित आत्मकथा शैलीमा आफै वर्णन गरेर संजालमा पोस्ट गर्छन् !
अनि आफैले चिनेका सानातिना अन्लाईन खबर पत्रिकामा आफैँलाई पढ्न लाज लाग्ने गरी आफ्नै तारिफ लेख्न लगाएर 'समाचार' बनाई मिडियाबाजी गरी आफै बारम्बार शेयर गर्नु यो वर्गको विशेषता हो ।
मुखमा मुस्कान, ब्रह्ममा राम, निरन्तर काम
यो वर्गका दाता पृष्ठभूमिमा बसेर दुखमा परेका दाजु भाइलाई निरन्तर सघाई रहन्छ। मानव सेवा, माधव सेवा हो, ग्राम सेवा राम सेवा हो भनेर विश्वास गर्ने यो वर्ग निस्वार्थ सेवामा दिन रात लागि रहन्छ। न कसैको झोला बोक्छन्, न आफ्नो नाम आसन, भाषण, प्रचार, पद, खादा मालाको रहर, न त तक्माको भोक ! यो वर्गले विपदमा मानवताको इज्जत बचाएको छ।
आफू पछाडि बसेर काम गर्ने यो वर्गका केही पात्रहरूप्रति उच्च सम्मानका साथ केही वास्तविक घटनाहरूको वर्णन गर्दै दाताहरूको माहात्म्य वर्णनबाट बिट मार्नेछु अब ! मैले गर्दै गरेको गो फण्ड मिमा सबैभन्दा बढी सहयोग गर्ने दाता 'अनोनोमस' रहन चाहनु भयो। मैले तपाइैँको नाम राख्दा अरूलाई पनि दान गर्न प्रेरणा मिल्छ भनेर अनुरोध गर्दा पनि उहाँले दुखीलाई राहत पुगोस्, ईश्वर साक्षी छन् मैले कसैलाई देखाउन नभई आफ्नै आत्मसन्तुष्टिको लागि गरेको भन्नुभयो।
अर्को दाताले मेरो आफन्त बित्नु भएको छ त्यसैले मेरो नाम साझा नगरिदिनु होला भनेर आग्रह गर्नुभयो। अर्की विद्यार्थी बहिनी चाँडै शल्यक्रिया गर्दै छिन्। त्यसका बाबजुद पनि उनले सक्दो सहयोग गरिन् । अर्का भारतको ब्याङ्गलोर बस्दै गरेका मेरै गाउँका दाजुले फोन गरेर आफू पनि समस्यामा भएको तर सबै पोस्ट शेयर गरी लिङ्क आफ्ना अमेरिकामा बसेका साथीभाइलाई पठाई डोनेट गर्न अनुरोध गर्ने छु भन्नु भयो।
नेपालमै बसेर आफ्नो उद्यम गरेर गैर नाफामूलक संस्था खप्तड छान्ना राइजिङ्ग अप लामातोलामार्फत् समाज सेवा गर्दै आएका दिनेश थापा जी र अर्जुन गिरीजीले आफू गाउँ ठाउँमा स्वास्थ्य सामग्री वितरण गर्न दिलो ज्यान दिएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आउनुहोस् आफैँलाई प्रश्न गरौँ कि हामी कुन वर्गको दाता हौँ त ?
(स्वीकार : यस लेखमा वर्णित सबै घटना र पात्र वास्तविक हुन्, कसैको जीवनसँग मिल्न गएमा कुनै संयोग हुने छैन )
- बिष्णु प्रसाद जोशी
खप्तड छान्ना-५, पिठातोला
हाल : विद्यावारिधि (रसायन शास्त्र) युनिभर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका
प्रतिक्रिया