काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ।
सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो दुई बजे बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने बताइएको छ।
फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौँमा गर्ने भनिएको महाधिवेशन कोरोना भाइरसको महामारीले अनिश्चित बनेको छ। त्यसैले लामो समयपछि बस्न लागेको आजको बैठकबाट महाधिवेशनको नयाँ मिति तोक्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
१३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०७६ साल फागुनमा सकिने भए पनि विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष थपिएको छ। थपिएको कार्यकाल पनि फागुन २० गते सकिँदैछ। त्यसपछि पनि कांग्रेसले संवैधानिक सुविधाअनुसार ६ महिना अवधि थप्न सक्छ। त्यो भनेको कांग्रेसको आयु २०७८ भदौसम्म कायम रहन्छ।
भदौमा पनि महाधिवेशन हुन नसकेमा भने कांग्रेसको वैधानिकता सकिन्छ। त्यसैले पार्टी सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव बैठकमा पेश गर्ने सम्भावना छ।
यस्तै, संसद विघटनको विरोधमा आन्दोलन जारी राखेको कांग्रेसले आज नयाँ रणनीति तय गर्ने जनाएको छ।
प्रतिक्रिया