झापा : सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आज निरीक्षण गरेका छन् । आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनीयरिङ सर्भे सकेको छ । उनले भण्डारण गृह निर्माणस्थलको निरीक्षणपछि प्रस्तावित परियोजना पूर्वी नेपालको महत्वपूर्ण र गौरवाको योजना भएको बताए।
उनले प्रारम्भिक सर्भे कार्य सकिएको हुँदा असोजदेखि सिलिगुढीको डिपोदेखि निगमको चारआलीस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना जिटुजीमार्फत हुने हुँदा नेपाल सरकार र भारत सरकारबीच समन्वय हुन बाँकी रहेकाले पहल भइरहेको जानकारी दिए।
उनले पाइपलाइनको माध्यमद्घारा चारआलीको भण्डारणगृहसम्म पेट्रोलियम पदार्थ आउन शुरु गरेपछि विगतमा हुँदै आएको चोरी निकासी र कर्मचारीको बदमासीसमेत रोकिने बताए । उनले भने, “विगतमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ चोरी भयो भन्ने गुनासो आउँथ्यो, त्यो रोकिन्छ, पारदर्शिता र सुशासन कायम गर्न बल पु-याउँछ ।”
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले शुरु भएको दुई वर्षभित्रमा ‘प्रोजेक्ट’ सकिने बताए। परियोजना निर्माणका लागि भारतीय मूल्य रु सात अर्ब दुई करोड लागत लाग्ने उनले बताए। मेचीनगर नगरपालिका–१३ मा रहेको निगमको २३ बिघा जमीनमा भण्डारण गृह निर्माणसँगै प्रदेश नं १ मा ९० दिनलाई पुग्ने चार करोड लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया