भक्तपुरः चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी प्रभावित सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन्। चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई रू १० लाख र हेलम्बु गाउँपालिकालाई रू पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।
नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेचम्ची गएका छन्।
त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई रू २२ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले विपद्मा परेको दुई पालिकाका नागरिकको उद्धार र राहत वितरणमा टेवा पुर्याउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
नगरपालिकाले मेलम्चीलाई रू ११ लाख ११ हजार १११ र हेलम्बुलाई रू ११ लाख ११ हजार १११ गरि रू २२ लाख २२ हजार २२ सहयोग गर्ने निर्णय गरेकाे छ।
प्रतिक्रिया