काठमाडाैंः उपत्यकासहित देशका विभिन्न स्थानमा आजदेखि निषेधाज्ञा लागू भएकाे छ। काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको गत साेमबारकाे निर्णयानुसार आज बिहीबार बिहान ६ बजेदेखि नै निषेधाज्ञा कार्यान्वयनमा आएको हो।
निषेधाज्ञासँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न नपाइने भएकाे छ। सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन।
विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ। विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ। विवाह व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कनुपर्दा चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ।
यस्तै मृत्यु संस्कार वा बिरामी कुरुवाका रूपमा अन्य जिल्ला जानुपर्दा विवरण खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडाैं उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन उपत्यकामा प्रवेश पाउने छैन। सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने छ।
विकास निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनु पर्ने छ। यस्तै खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका व्यवसाय बन्द हुने छ।
खाद्य सामग्री पसल र डिपार्टमेन्टल स्टाेरका ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन हुने छ भने सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बीमा र सहकारीलगायत राष्ट्र बैँकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ।
यस्तै काठमाडाैं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्यरूपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन्।
पत्रकारको हकमा सूचना विभाग, पत्रकार महासङ्घ र स्वयं सञ्चार संस्थाले जारी गरेको प्रेस परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ।
यस्तै आजैबाट लागू हुने गरी १७ वटा जिल्लामा पनि निषेधाज्ञा जारी भएको छ। काठमाडौँ, भक्तपुर, ललितपुरसहित मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, बर्दिया, कैलाली, कञ्चनपुर, बागलुङ, कालीकोटका, सुर्खेत, चितवन र पाल्पामा निषेधाज्ञा जारी भएकाे छ।
प्रतिक्रिया