लेटेस्ट न्युज
advertisement1

दाेलालघाट पुरानाे बजारमा बाढीले ११ घर डुबानमा

Maryada News 2021-06-18 10:38:47
दाेलालघाट पुरानाे बजारमा बाढीले ११ घर डुबानमा

काभ्रेः भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीले ती घर डुबानमा परेको हो।

घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै सामानसमेत निकालेर अन्यत्र सारिएको छ। नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि दुई/तीन दिनदेखि यहाँका मानिस घर छाडेर बाहिरै बस्दै आएका र बुधबार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारेको पीडित सुदर्शन रायले बताए। 

दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेपछि घर एक तलासम्म पुरिएको छ।

डुबानबाट विन्दा श्रेष्ठ, नानीबाबु मिजार, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, सुवास राय, रामप्यारी गिरी, दिलीप श्रेष्ठ, सुदर्शन राय, लोकदर्शन राय र श्याम बस्नेतलगायतका ११ घरपरिवार सो ठाउँबाट अन्यत्र सरेका छन्। त्यससँगै नदीबाट दोलालघाट पुरानो बजार क्षेत्रमा टहरा बनाएर बस्दै आएका माझी समुदायको टहरासमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष गुमानध्यव कुँवरले बताए। 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले डुबानमा परेका परिवारको अन्त ठाउँमा पनि घर भएका कारण सुरक्षित ठाउँमा सारिएको र पानीको बहाव झन् बढ्न सक्ने भएकाले थप समस्या हुन नदिन सुरक्षा उपाय अपनाउन प्रहरी प्रशासन परिचालन गरेको बताए।

नदीमा बाढी आएर दोलालघाट बजार क्षेत्र र मण्डनदेउपुर नगरपालिकाको सिपाघाट क्षेत्र डुबानमा परी पूर्ण तथा आंशिक क्षति भएकाले विपद्बाट प्रभावितको सुरक्षित बसोबास, खाद्यान्न, गैरखाद्य सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा व्यवस्थापन गरिरहेको प्रजिअ पोखरेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्