छ वर्ष पुरा भईसकेछ, बुवा सधैँका लागि टाढिनु भएको तर यो मानसपटलबाट कहिल्यै टाढा हुनु भएन । हरेक क्षणमा बुबाको सम्झना र श्रद्धाले मन पानी बिनाको माछा जस्तै छटपटिई रहन्छ । कहिलेकाहीँ सपनामा भेट हुन पाउँदा मात्रै पनि हर्षले मन रमाउँछ । नजिकैको जुनकिरीलाई देख्दैनन् कोही पनि जुन, तारालाई हेरेर कल्पिने जो पनि भनेझैँ जस्तै भएको हो कि ? जीवन रहँदासम्म खुशी दिन नसक्ने सन्तानले निधन पछि श्रद्धा अर्पण गर्नु नि खै के अर्थ रहला र ? कहिलेकाहीँ यस्तो पनि मनमा उब्जिन्छ ।
हुन त छोराछोरीले पनि बुवा आमाको खुशीकै लागि निरन्तर प्रयास त गरेकै हुन्छन् । तर पुरा नहुनु छुट्टै कुरा हो जस्तो लाग्छ । जब यादले मन आत्तिन्छ अनि खुशीले मातिन्छ नि । बुबा, हजुरको सामिप्यता अति नै खड्किन्छ । जब एक्लो महसुस हुन्छ तब बुवाको सम्झना र बोलेका शब्दहरु कानमा गुञ्जिरहे झैँ लाग्छ । आफ्नै छायाँमा पनि सानो छँदा डोर्याएर हिँडेको याद मेट्न सकेको छैन ।
कान्छी बिना काममा अरुको घरमा धेरै गएर बस्नु हुँदैन काम छ भने नि छिटो काम सकेर घर आईहाल्नु , मलाई बोल्ने साथी हुन्छ कहीँ नजानु है । मलाई बोल्ने चाहिन्छ १ आमा पनि काममा गइछन् । तिमी र म भएर घर कुर्नुपर्छ है । आज्ञाकारी छोरीसँगै साँच्चिकै म बुबाको साथी थिए । बुबा पनि मेरो असल, कर्तव्यनिष्ठ साथी हुनुहुँदो रहेछ । बल्ल आज महसुस हुँदै छ । बुबाले खाली मलाई बाहिर जान, केही गर्न रोके जस्तो लाग्थ्यो । कति सुन्नु गन्थन दिक्क पनि लाग्थ्यो तर होईन रहेछ ।
आज बुबाका तिनै शब्दको अभाव महसुस हुन्छ । पलपलमा झस्काईरहन्छ र स्तब्ध बनाउँछ । बुबाको साथमा हुनुहुँदो हो त कति कुरा सुनाउँथे होला । मेरो कुरामा बुबाको प्रतिक्रिया कस्तो हुन्थ्यो होला रु सुनाउन नपाई छटपटिमै अधुरै भैदिन्छन् । खुशीमा साथी भेट्न त्यति गाह्रो हुन्न तर दुःख मा साथ कहाँ पाउँनु । सायद यसकारणले पनि होला कठिन घडीमा बुबाकै साथ सहयोग हरेक क्षणमा खोजिरहदो रहेछ मनले । सम्झनामा मन भारी भएर आँखाबाट झरेको झरेको पत्तै हुँदैन ।
लाग्छ नियतिले पनि कमजोर देखेर हामीमाथि यति ठूलो खेल खेल्यो यति छिट्टै बुबाको साथ बिना टुहुरो हुनु पर्दा मन भक्कानिन्छ । आफैलाई मनमनै प्रश्नहरु गर्न मन लाग्छ रु तर पनि आफैँ सम्हालिन्छु , म जस्ता अरु धेरै अनुहार देखेर बिस्तारै सामान्य रुपमा आफूलाई ल्याउने प्रयत्न गर्छु ।
साँच्चिकै म परिवारकै सानी र प्यारी थिएँ । बुबासँग भएकाले बुबाको भोगाई, चिन्तनबारे सुनिदिने आखिर म नै थिए । पुख्र्यौली थलो कास्कीको फल्याङ्कोटमा बाँचेको त्यो जीवनशैली, दन्त्यकथा, नेपालको राजनैतिक घटनाक्रम तत्कालीन राजा महेन्द्रका कथा किताबमा भन्दा धेरै बुबाबाट सुनेँ ।
मकैको ढोड बालेर अक्षर खोट्याएकै भरमा रामायण र संस्कृत प्रष्टसँग लेख्न र पढ्न कसरी सक्या होलान् । अहिलेजस्तो रेडियो, टिभी, ईमेल, ईन्टरनेट, पत्रपत्रिका, मिडियामा खबर पनि आउँदैन थिए । कुटो, कोदालो, मेलापात, गाईवस्तुको गोठाले, खेतबारी जोत्ने, अन्नबाली उब्जाउने आदि किसान, मजदूर गर्ने मानिसले यति बिधि सूचना कसरी थाहा पाए होलान् मनमा कौतुहलता उत्तिकै । तर धेरै कुरा बुबाले बेलिबिस्तार हुन्थ्यो ।
म जन्मिदा ५५ वर्ष उकालो लाग्नुभएको बुबाको आँखामा समस्या भएर भर्खरभर्खरै चस्मा लगाउन थाल्नुभएको थियो तर ३ पुस्ता फरक परे पनि मेरो उहाँ मेरो साथीजस्तै अनिउहाँका लागि म साथी जस्तै थियौँ । बुबा कडा स्वभावको हुनुहुन्थो तर हामी साथी जस्तै थियौँ । चित्त नबुझेको कुरामा कडा रुपले प्रस्तुत हुँदा मलाई धेरै डर पनि लाग्थ्यो । म सधैँ उहासँग शान्त भावमै प्रस्तुत हुन्थेँ ।
तर बुबा भन्नुहुन्थ्यो चाहिने कुरामा यसरी मलिन भयो भने त यो सोझो छ यो सोझो छ जे गर्दा नि हुन्छ भन्ने सोचेर सबैले हेप्छन्, त्यसैले परिस्थिति अनुसार कडा पनि बन्न जान्नुपर्छ । हुन पनि हो जस्तो लाग्थ्यो बुबाको कुरा हिजोआज ! तर आफ्नो बानी, व्यवहार परिवर्तन हुन त्यति सजिलो कहाँ छ र ? कडा स्वभावको बुबा भएपनि मलाई समकालीनहरूको तुलनामा निक्कै स्वतन्त्रता थियो तर जवाफको सवाल गर्न चाहिँ पाइँदैनथ्यो ।
आफूभन्दा ठूलालाई सम्मान र सानालाई मायाका साथै सद्भाव हुनुपर्छ । ठूलाले भनेको कुरामा जवाफ नलगाउने र सिधा मुखमा पनि हेर्न हुन्न भन्नु हुन्थ्यो त्यतिबेला आश्चर्य लाग्थ्यो । तर अहिले खुसी लाग्छ ।मेला, महोत्सव,सांस्कृतिक कार्यक्रम, सभा सम्मेलनमा कहिल्यै पनि रोक लगाउनु भएन । तर रातिको समयमा गाउँमा पूजा, रत्यौली९विवाह० अथवा राति हुने सांस्कृतिक कार्यक्रममा घरबाट बाहिर निस्कनु हुन्न भन्ने मेरो समाजको दृष्टि भए पनि मलाई त्यति रोकछेक थिएन बुबाले म प्रति गर्नु भएको त्यो विश्वास थियो अथवा बुबाको परिवर्तनकारी सोच ।
आखिर भाग्य र समय जे जस्तो भएता पनि बुबाले उभ्याई दिनुभएको त्यो सोच, विचारप्रति म जीवनभर कृतज्ञ रहने छ । आज त्यही पृष्टभूमिमा उहाँको नामले चिनिन पाउँदा अत्यन्तै यसले खुशी छु । बुबा हजुरले देखाउनु भएको बाटो बाचुञ्जल सधैँ हिँडिरहन सकुँ ।अन्जानमा कहिकतै गल्ती गरेकी भए क्षमा पाऊँ । हजुरको आत्माले शान्ति पाओस् ।
आज भन्न मन लागेको छ, बुबाआमाको कुराहरु पनि हरेक छोराछोरीले सुनिदिने गरौँ । आमाबुबाको आशीर्वाद माया र साथ भन्दा ठूलो सायद संसरामा अरु नहोला । स्वार्थ बिनाको यस्तो माया साथ र आशीर्वाद चाहिँ भाग्यमानीले मात्रै पाउँछन् कतिपय समयमा त कर्मले नि भाग्य चम्काउन सकिन्छ रे । त्यसैले भाग्यमानी बन्ने कोशिश गरौँ ।
प्रतिक्रिया