ललितपुर : वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि गत बुधबार साँझबाट ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए । उनले भने, “आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो । कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो ।”
उनका भतिज तथा उद्योग वाणिज्य सङ्घ, ललितपुरका पूर्वाध्यक्ष अजरमान जोशीले आजा उनको स्वास्थ्यमा निकै सुधार भएको र आउँदो आइतबार घर फर्काइने सम्भावना रहेको बताए । गत वैशाख ३० देखि जोशी एक सय एक वर्ष पुरा गरी एक सय दुई वर्षमा प्रवेश गरेका छन् ।
मुलुकमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना महामारीबीच जोशी निवास बखुम्बहाल पुगेर उनको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुस्वास्थ्य एवं दिर्घायुको कामना गरेका थिए। मदन पुरस्कारप्राप्त जोशीको मुहारअङ्कित रु १० को हुलाक टिकट पनि प्रकाशन भइसकेको छ । जोशीको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट उहाँको तस्वीर अङ्कित चाँदीको विभिन्न सिक्का समेत निस्कासन भइसकेको छ ।
प्रतिक्रिया