लेटेस्ट न्युज
advertisement1

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

Maryada News 2021-06-09 10:47:52
अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

काठमाडाैंः किराँत राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता आयाेजना गरेको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता शुरु गरेको हो।

लोपोन्मुख बनेको बिनायो बाजाको संरक्षण, संवर्द्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले बिनायो वादन प्रतियोगिताको आयोजना गरिएको किराँत राई सांस्कृतिक कलाकार सङ्घका सचिव पदम थुलुङले बताए। सचिव थुलुङका अनुसार पहिलो चरणमा इच्छुक प्रतियोगीले बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाइसक्नुपर्ने छ।

छनोट भएका भिडियो सङ्घको युट्युब च्यानलमा अपलोड गरिने आयोजकले जनाएको छ। पहिलो चरणमा छनोट भएकामध्येबाट पुनः दोस्रो चरणमा पनि बिनायो बजाइरहेको ओरिजिनल भिडियो आयोजकलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ। दोस्रो चरणमा उपलब्ध भएको भिडियोको आधारमा फाइनल प्रतिस्पर्धा हुने सङ्घले जनाएको छ।

बिनायो बजाएको भिडियो कम्तीमा दुई मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियोसहितको हुनुपर्ने शर्त छ। प्रतियोगितामा जुनसुकै मुलुक र जुनसुकै समुदायका प्रतियोगी सहभागी हुन पाउनेछन्। प्रतियोगिता आगामी असारको अन्तिम साता समापन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः रू १६ हजार, १० हजार र सात हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताए। कार्यक्रममा किराँत राई सङ्गीत सम्मान अक्षयकोषका लागि रू दुई लाख २२ हजार २२२ रकम सङ्कलन भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्