काठमाडाैंः विश्वकप छनाैटअन्तर्गतकाे गएराति भएकाे खेलमा नेपाल जाेर्डनसँग पराजित भएकाे छ। जाबेर अल अहमद रंगशालामा भएकाे खेलमा नेपाल ३-० गाेलअन्तरले पराजित भएकाे हाे।
जोर्डनकालागि बाहा फाइजल सिफले पेनाल्टी र फ्रिकिकमार्फत दुई गोल गरे। यस्तै याजन अल अरबले हेडमार्फत एक गोल गरे। खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमार्फत गोल गरेका थिए। ४९ औं मिनेटमा उनले फ्रिकिकलाई उत्कृष्ट गोलमा परिणत गरेका थिए। त्यसपछि खेलको ६७ औं मिनेटमा याजनले हेडमार्फत गोल गर्दै जोर्डनकाे गाेल सङ्ख्या ३ पुर्याए।
यसअघि पनि विश्वकप छनाैटअन्तर्गत नै गत वर्षको अक्टोबरमा जोर्डनले नेपाललाई ३-० ले नै हराएको थियो।
खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले पहिलो हाफमा गरेकाे एउटा गल्तीका कारण जाेर्डनले खेल जितेकाे प्रतिक्रिया दिए। 'पहिलाे हाफमा एउटा मात्र गल्ती गर्यैं। त्यो गल्ती नगरेको भए सायद खेलको नतिजा फरक हुने थियो। हामीले गरेको गाल्ती जोर्डनका लागि उपहार जस्तै भयो', उनले भने।
जितसँगै जाेर्डन समूह 'बी' को अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपाल ७ खेलमा ६ अंक जोड्दै चौथो स्थानमा रहेको छ।
नेपालले समूह चरणको अन्तिम खेल अष्ट्रेलियासँग खेल्नेछ। नेपाल र अष्ट्रेलियाबीचको खेल जेठ २८ गते शुक्रबार हुनेछ।
विश्वकप छनाैटकाे तेस्राे चरणमा पुग्ने सम्भावना टरिसके पनि एसिया कपकाे तेस्राे चरणमा भने नेपालकाे सम्भावना कायमै छ। अष्ट्रेलियालाई पराजित गरे नेपाल एसिया कपकाे तेस्राे चरणमा प्रवेश गर्न सक्नेछ।
प्रतिक्रिया