काठमाडाैंः रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या भए तुरून्त जाँच गराउन चिकित्सकले जाेड दिएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरेका छन्।
सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन भनेर नबस्न र स्वास्थ्य जाँच गरी ढुक्क हुन उनले सुझाव दिएका छन्। ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो पर्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन दासले अनुरोध गरेका हुन्।
सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकहरूको छ। छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाए बिरामीलाई बचाउन सकिने उनीहरूकाे अनुभव छ। पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकामा दोस्रो चरणमा धेरै युवाहरू नै सङ्क्रमित भएका छन्। बालबालिका पनि प्रभावित हुन थालेका छन्।
अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइँ छ। बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव चिकित्सक दासले दिएका छन्।
जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनकाे सुझाव छ। प्रशस्तमात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उनले सल्लाह दिएका छन्।
६ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल स्वास्थ्य परामर्श गर्न चिकित्सकले सुझाव दिएका छन्। दोस्रो लहर अझै १० दिनसम्म रहनसक्ने दासको भनाइँ छ। दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको छ।
प्रतिक्रिया