एजेन्सीः भारतले सामाजिक सञ्जाल कम्पनीहरूलाई 'भारतीय भेरियन्ट' लेखिएकाे वा संकेत गरिएकाे सम्पूर्ण सामाग्री तत्काल हटाउन निर्देशन दिएकाे छ। भारतकाे सूचना प्रविधि मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा भेटिएकाे 'बि.१.६१७' भेरियन्टलाई सूचिकृत गरेकाे र साे त्यसलाई भारतीय भेरियन्ट भन्नु गलत हुने तर्क पेश गरेकाे छ।
यद्यपि यसअघि बेलायत र ब्राजिलमा विकसित भेरियन्टलाई भने बेलायत भेरियन्ट र ब्राजिल भेरियन्ट भन्दै भाैगाेलिक नाम नै दिइएकाे थियाे।
दुई महिनायता यस नयाँ भेरियन्टकाे काेराेनाले भारतलाई आक्रान्त पारेकाे छ। भारत हाल कूल सङ्क्रमितकाे सङ्ख्यामा अमेरिकाभन्दामात्र पछि छ। भारत सरकारले काेराेना नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकाे र उल्टै भाइरस फैलन सक्ने चुनाव र कुम्भ मेलाजस्ता कार्यलाई प्रश्रय दिएकाे आराेप लाग्दै आएकाे छ।
भारतीय भेरियन्ट भन्न नहुने भन्दै शुक्रबार भारतकाे सूचना तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनीहरूलाई निर्देशन जारी गरेकाे थियाे। प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूलाई भारतीय भेरियन्ट लेखिएकाे वा संकेत गरिएकाे सम्पूर्ण सामाग्री तुरुन्त हटाउन निर्देशन दिइएकाे छ।
प्रतिक्रिया