लमजुङः जिल्लाकाे मर्स्याङदी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान गएकाे ५.८ रिक्टर स्केलकाे भूकम्पले घर भत्काउँदा विभिन्न स्थानका चार जना घाइते भएका छन्।
घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङदी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
प्रहरीका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए। घाइतेहरूको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ। उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताए।
घाइतेमध्ये उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो। त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो छ।
प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले बेँसीशहर–१ का शम्शेर परियार, वडा नं ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नं ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मर्स्याङदी–३ तरापुका बासुदेव खत्रीको घरमा पनि क्षति पुगेको छ।
त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेँसीशहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ। यी अधिकांश घरहरु ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ। त्यस्तै थप अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइँ छ। लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत धक्का महसुस गरिएकाे थियाे।
जिल्लामा भने अझै पटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले फेरि बिहान ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको बताएका छन्। साेही क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे उनले बताए।
पटकपटक भूकम्पको धक्का गइरहेकाले स्थानीयवासी घरबाहिर सडक र खुला ठाउँमा निस्किएर बसेका छन्।
प्रतिक्रिया