दैलेखः दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै वडामा नौ जनाको निधन भएको छ। दैलेखमा एउटै वडामा निधन भएकाे याे सङ्ख्या हालसम्मकै उच्च हाे।
मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित निधन भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए। उनीहरूको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा निधन भएकाे लम्सालले बताए।
अन्य ६ जनामध्ये दुई जनाको भारतमा निधन भएको थियो। बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा निधन भएको स्वास्थ्य संयोजक लम्सालले बताए। यहाँ कामका लागि भारत गएका स्थानीय घर फर्केसँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण निधन भएको हो।
एउटै समुदायभित्र नौ जनाको मृत्यु भएपछि अहिले अवस्था असामान्य बनेको छ। दुल्लु–१२ को एउटै टोलमा एक सय भन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए।
“रातदिन नभनी स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा गएका छौँ। अधिकांशमा ज्वरो र रुघाखोकी रहेको छ”, भण्डारी बताए। हाल जिल्लाका अधिकांश स्थानमा औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले परीक्षणलाई तीव्र पारेको छ।
प्रतिक्रिया