काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई राज्य विरुद्धका कसुर अन्तर्गत दफा ५८ को कसुर लगाएर प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकु, काठमाडौंबाट जारी भएको पक्राउ पुर्जीमा लेखिए अनुसार राज्य विरुद्धका कसुर अन्तर्गत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकाले पक्राउ पुर्जी जारी गरिएको हो ।
राज्य विरुद्धको कसुर अन्तर्गत दफा ५८ मा लेखिएको छ– ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नु पर्ने कार्य सम्पादनबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरि वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।’
यस्तै सो कसुर गरेका सात वर्षसम्म कैद वा ७० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।
तर सर्वाेच्च अदालतका वरिष्ठ अधिवक्ता ओम प्रकाश अर्याल नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्ति राज्य विरुद्धको कसुरको तहको नभएको बताउँछन् । उनी भन्छन्– ‘राज्य विरुद्धको अपराधको कसुर लगाउने दफा ५८ लगाउने तहको अभिव्यक्ति थिएन त्यो ।’
नेकपाको ओली समूहबाट पनि विभिन्न समयमा विभिन्न आक्षेपपूर्ण अभिव्यक्ति आइरहँदा, अन्य समूहका नेताहरूले आपत्तिजनक अभिव्यक्ति दिइरहँदा नेतृ झाँक्रीलाई पक्रन पक्राउ पुर्जी नै जारी गर्नु राजनीतिक प्रतिशोध भएको अधिवक्ता अर्यालले बताए ।
‘आन्दोलनमा रहेका समूहकै नेतृलाई टार्गेट गरेर पक्राउ गर्नु भनेको चाहिँ यो विशुद्ध राजनीतिक प्रतिशोध हो’, उनले भने, ‘धेरै खालका अभिव्यक्तिलाई केही नगर्ने, एक जना नेतृको अभिव्यक्तिलाईमात्र कारवाही गर्ने प्रवृत्तिले प्रश्न चाहिँ उठाएको छ ।’
प्रतिक्रिया