काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोभिड–१९ विरुद्ध खोप पत्रकारहरुलाई लगाउने भएको छ।
भारत सरकारको अनुदानमा ल्याइएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेकालाई लगाइएको थियो। आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि पाँच दिनसम्म अग्रपंक्तितमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल मीनभवनबाट खोप दिइने बताए। खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ।
स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको छ र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ।
प्रतिक्रिया