भारतको बिहारमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ। बिहारको पूर्वी चम्पारण जिल्लामा ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको बिबिसी हिन्दीले जनाएको छ।
बर्दियाको बारबर्दिया नगरपालिका–३ का एक जना नेपालीको परिवार मजदुरीका लागि त्यहाँ गएको र सात वर्षदेखि उनीहरू मोतिहारीको कुन्डवा चैनपुरमा मजदुरी गर्थे।
२१ जनवरीमा उनका बुवा मजदुरी गर्न गएका थिए भने दाइ कामको सिलसिलामा बजार गएका थिए। साँझ ४ बजेतिर डेरामा फर्किन लागेका दाइलाई घरबेटी सियाराम साहले रोक्न खोजे। उनी नरोकिएर डेरामा पुग्दा बहिनी घाइते भएर लडिरहेको देखे।
'बहिनीको हालत देखेपछि उनले बुवालाई खबर गरे। काम छोडेर उनी तत्काल डेरामा आए। मेरी छोरी भुइँमा लडिरहेकी थिई। उसको घाँटीमा रातो दाग थियो। मैले उसलाई उपचार गर्न स्थानीय डाक्टरहरूकहाँ लगें तर कसैले उपचार गर्न मानेनन्', उनका बुवाले घटनाको १२ दिनपछि प्रहरीलाई दिएको निवेदनमा भनिएको छ।
उपचार नपाएपछि ती बालिकाको मृत्यु भएको र मृत्युपछि गाउँका युवा भेला भएर प्रहरी अधिकारीको मिलेमतोमा उनीहरूले छोरीको लास जबरजस्ती जलाउन लगाएका पीडितका बुवाले बताएका छन्।
प्रतिक्रिया