एजेन्सी- संघर्षपूर्ण खेलमा रियल म्याड्रिडले लिगको पुछारमा रहेको हुवेस्कालाई हराएको छ। खेलमा रियलका लागयि दुवै गोल गरेका राफेल भारान नायक बने। हुवेस्काको मैदानमा भएको खेलमा रियल २–१ ले विजयी भएको हो। तर खेलमा भने हुवेस्काले अग्रता लिएको थियो।
पहिलो हाफ बराबरीमा सकिएको थियो। दोस्रो हाफको तीन मिनेटमै हुवेस्काका जाभी गालानले गोल गर्दै १–० को अग्रता दिलाएका थिए। तर खेलको ५४ औं मिनेटमा राफेल भारानले गोल गर्दै रियललाई बराबरीमा ल्याए। ५१ औं मिनेटमा हुवेस्काले गरेको प्रहार रियलको गोल पोस्टको माथिल्लो बारमा लागेर आकाशिएको थियो।
बराबरीतर्फ धकिलिएको खेलमा खेलको ८४ औं मिनेटमा जर्मनीका मिडफिल्डर टोनी क्रुसले गरेको फ्रिक किक पोलमा लागेर आकाशिएपछि उनै भारानले हेडमार्फत गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए। त्यसपछि बाँकी समय गोल नभएपछि रियलले खेल जित्यो।
जितसँगै रियलले जारी लिगमा २१ खेलपछि ४३ अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको बार्सिलोनाको भने ४० अंक छ। हुवेस्का भने २२ खेलबाट १६ बनाएर पुछारमै छ।
गएराति भएको अर्को खेलमा सेभिल्लाले गेटाफेलाई ३–० ले पराजित गरेको छ। सेभिल्लाले तीनै खेल दोस्रो हाफमा गरेको थियो। घरेलु मैदानमा सेभिल्लालाई जिताउन मुनिर अल हालादीले ६७ मिनेटमा पहिलो गोल गरेका थिए। ५४ औं मिनेटमा जेने डोकोनाम रातो कार्ड खाँदै बाहिरिएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो।
त्यस्तै अलेक्जान्ड्रो ड्यारियो गोमेजले ८७ औं मिनटमा गोल गर्दै खेलको उत्तरार्द्धमा २–० को अग्रता दिलाएका थिए। त्यसको दुई मिनेट नबित्दै जर्सी नम्बर १५ का मोरोक्कोका स्ट्राइकर यसुफ न्यास्रीले गोल गरेपछि सेभिल्ला ३–० ले जित निकाल्न सफल भयो।
जितसँगै सेभिल्लाले २१ खेलपछि ४२ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ। पराजित गेटाफे भने समान खेलबाट २४ अंकसहित १२ औं स्थानमा छ।
प्रतिक्रिया