चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ। पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज शुक्रबार राति १२ बजेबाट सकिँदै छ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ। पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए।
निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कोही व्यक्ति घरबाट ननिस्कन, अत्यावश्यक काममा हिँड्नुपर्ने भएमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्न आदेशमा उल्लेख गरिएको छ। सभा, सम्मेलन, गोष्ठी तालिम, सेमिनार, जात्रा, महोत्सव, सिनेमा, पार्टीप्यालेस, हेल्थक्लब, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, सङ्ग्रहालय, फिटनेस सेन्टर, जिमखाना, स्पा, स्वीमिङ्ग पुल, ब्यूटीपार्लर, सैलुन, टेलरिङ, फुटपाथ पसलजस्ता भीडभाड रहने क्षेत्र बन्द रहने छ।
आदेशमा तरकारी, फलफूल, खाद्यान्न, कुखुराका अण्डा, चल्ला दाना, माछा, मासु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्मका लागि समय तोकिएको छ। औषधि, पेट्रोलपम्प, दुग्ध उद्योग, दूरसञ्चार, इन्टरनेट, विद्युत्, फोहरमैला व्यवस्थापन, खानेपानी आपूर्तिसम्बन्धी सेवा, अत्यावश्यक सेवा प्रयोजनका लागि न्यूनतम कर्मचारी खटाई आइतबार, मङ्गलबार र बिहीबार मात्र तोकिएको मापदण्डको पालना गराई वाणिज्य बैंक सञ्चालन गर्न पाइने तर अन्य वित्तीय संस्था तथा सहकारी सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ।
आदेशको पालना नगरे सङ्क्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने बताइएकाे छ।
प्रतिक्रिया