बागलुङः बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ। एक साताभित्रै तीन जनाकाे सङ्क्रमणका कारण निधन भएकाे हाे।
बडिगाड–४ को जलजलामा दुई साताअघि विवाहभोज खाएपछि तीन जना नै सङ्क्रमित हुन पुगेका थिए। स्वास्थ्य कार्यालयका अनुसार निधन हुनेमा एकै घरका ८७ वर्षीय बाबुसहित, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन्।
उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।
एक साताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि निधन भएको छ। घटनापश्चात बडिगाडका स्थानीय निकै त्रासमा छन्। गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ। प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ।
प्रतिक्रिया