कैलालीः निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि सेवा रोकेको छ।उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पीसीआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले स्वाब सङ्कलन राेकिएकाे हाे।
अस्पतालले नै स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले शनिबार, आइतबार र सोमबार गरी तीन दिनका लागि स्वाब सङ्कलन रोकेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए। उनले भने, “तीन दिनपछि पुनः सेवा सञ्चालन हुनेछ।”
सेती प्रादेशिक अस्पतालमा भने स्वाब सङ्कलन जारी रहने जनाइएको छ। लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको कोरोना परीक्षणका लागि उपमहानगरपालिकाले निःशुल्क स्वाब सङ्कलन गरिरहेको र त्यसको परीक्षण सेती प्रादेशिक अस्पतालले गर्दै आइरहेको छ।
सङ्कलन गरिएका सबै नमूनाको परीक्षण गरिएपछि उपमहानगरपालिकाले पुनः निःशुल्क स्वाब सङ्कलन कार्य सञ्चालन गर्नेे जनाएको छ। जिल्लामा कोरोना सङक्रमण दर बढेसँगै स्वाब दिनेको सङ्ख्या अत्यधिक बढेको छ।
प्रतिक्रिया