सर्लाहीः कोरोना भाइरसकाे संक्रमण बढ्दै गएपछि सर्लाही जिल्लामा पनि निषेधाज्ञा लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी हेमराज तामाङकाे संयाेजकत्वमा बसेकाे जिल्लाकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)काे शुक्रबारकाे बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे।
याेसँगै आज शनिबार मध्यरातिबाट सर्लाहीमा निषेधाज्ञा लागू हुँदै छ। वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सम्पूर्ण गतिविधि ठप्प हुनेछ। सार्वजनिक र निजी सम्पूर्ण यातायात ठप्प हुनेछन्। एम्बुलेन्स, शववाहन, खाद्यढुवानी लगायतका अत्यावश्यक यातायातमात्र सञ्चालन हुनेछन्। होटल, रेस्टुराँ, ब्युटीपार्लर, कपडा पसल, सैलुन, जिमखाना, सुनचाँदी पसल, हाटबजार, शैक्षिक संस्था लगायत सम्पूर्ण बन्द गर्न सूचनामार्फत निर्देशन दिइएको छ।
औषधि उपचार र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ। विवाहकाे हकमा दुईवटासम्म गाडी र १५ जनासम्म व्यक्ति सहभागी हुन पाउने बताइएकाे छ।
खाद्यान्न, फलफूल र तरकारी लगायतका पसल बिहान ७ देखि १० बजेसम्म खाेल्न पाइने बताइएकाे छ। निषेधाज्ञा अवधिभर पेट्राेल पम्प भने खुला रहने छ।
उल्लिखित नियमभन्दा बाहिर गए नियन्त्रणमा लिएर प्रचलित कानुन बमाेजिम कडा कारबाही गरिने पनि बैठकमार्फत निर्णय भएकाे छ।
प्रतिक्रिया