काठमाडाैंः काेराेना महामारीविरुद्ध लड्न प्रवासी नेपाली एकता मञ्च युरोपले ५० लाख रूपैयाँको ‘कोभिड–१९ च्यालेञ्ज फन्ड’ खडा गर्ने घोषणा गरेको छ। काेषमार्फत मञ्चले नेपालमा अक्सिजन कन्सन्ट्रेटर मेशिन खरीद गर्ने, स्वास्थ्यकर्मीको सम्मानमा फलफूल तथा खाना वितरण गर्ने र कोभिड–१९ सम्बन्धी जनचेतना अभिवृद्धिमा लगानी गर्ने घोषणा गरेको छ।
घाेषणा कार्यक्रममा बेलायतस्थित हडस्फिल्ड युनिभर्सिटीका प्रोफेसर डा पदम सिम्खडाले नेपालमा कोभिड महामारीको भयावह अवस्था र कोभिड–१९ विरुद्धको लडाइँमा विश्वको अनुभव विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको संयोजनमा घाेषणा कार्यक्रम सम्पन्न भएको थियाे।
प्रवासी नेपाली एकता मञ्च अन्तरराष्ट्रिय कमिटीले गत मङ्गलबार पनि एक कार्यक्रम गरी नेपालमा बढ्दै गएको कोरोना रोकथामका लागि प्रवासबाट स्वास्थ सामग्री पठाउने निर्णय गरेको थियो। उक्त सामग्री खरीद प्रक्रिया र कोष खडा गर्ने काम सँगसँगै अघि बढाइने अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले जानकारी दिए।
प्रतिक्रिया