लेटेस्ट न्युज
advertisement1

पशुपतिमा सुनको जलहरी राख्नु ऐन विपरित भएको ठहर, राखेमा पाँच वर्ष कैद हुन सक्ने

Maryada News 2021-02-12 12:56:19
पशुपतिमा सुनको जलहरी राख्नु ऐन विपरित भएको ठहर, राखेमा पाँच वर्ष कैद हुन सक्ने

काठमाडौं- पशुपतिनाथमा सुनको जलहरी राख्ने काम ऐन विपरित भएको पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले बताएका छन् ।

नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उनले सुनको जलहरी राख्ने काम प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरित भएको बताउँदै सो ऐन उल्लंघन गरेमा पाँच वर्षसम्म कैद सजाय हुनसक्ने बताएका छन्। 

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य भन्छन्– ‘ऐन उल्लङ्घन गरी सुनको जलहरी राखेमा रू पाँच हजारदेखि एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १२ को खण्ड ९ (ग) मा यस्तो व्यवस्था गरिएको छ।’

यसअघि प्राचीन स्मारक संरक्षण ऐन बन्नुअघि नै राजा रणबहादुर शाहका पालामा शिवलिङ्गमुनि चाँदीको जलहरी राखिएकोसमेत उनले बताए। पशुपतिनाथमा रहेका चाँदीको खराउसमेत सुनको बनाइएको छ।

वैद्यले पशुपतिमा गैरकानुनी ढंगले सुनको जलहरी राखेमा आफू अनसन बस्ने चेतावनी पनि दिएका छन्।

सम्पदा संरक्षण अभियानमा लागेका कानून व्यवसायी सञ्जय अधिकारीले प्राचीन स्मारक संरक्षण ऐनको दफा २ मा सम्पदालाई मौलिकरूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था भएकाले सुनको जलहरी राख्न नसकिने बताए। सुनको जलहरी राख्ने काम नरोके आफू रिट निवेदन लिएर सर्वोच्च अदालत जाने उनको भनाइ थियो।

त्यस्तै कार्यक्रममा पशुपतिका पालोवाला भण्डारी केदारमान भण्डारीले गुह्येश्वरीको गर्भगृहमा राखिएको सुन दश÷दश वर्षमा खिइएर जाने गरेकाले पशुपतिनाथमा समेत त्यस्तै हुनसक्ने भएकाले भण्डारीले जिम्मा लिन नसक्ने बताए। पशुपतिको प्राङ्गण विस्तार गर्ने नाममा समेत सम्पदालाई नाश गर्ने काम भइरहेको उनले बताए।

पशुपतिलाई विभिन्न भक्तजनले चढाएका गरगहनालगायत सुन, चाँदी र तामाका चीजबिजसमेत मर्मत नभई थन्किएकाले सम्पदा संरक्षणका लागि उपयुक्त कदम चाल्ने उनले बताए।

अर्का पालोवाला भण्डारी ओम भण्डारीले भने हराउँदा, नासिँदा वा मासिँदा, खिइँदा भण्डारीले जिम्मा लिनु नपर्ने हो भने १०४ भण्डारीमध्ये धेरैले सहमति जनाउने बताए। पशुपति मूल मन्दिरभित्र सुनको घण्टा, सुनको नागलगायत सामग्री बनिसकेकाले सुनको जलहरीलाई पनि कसैले रोक्न नसक्ने उनको तर्क थियो।

कोषले मूल मन्दिरभित्र सुनको जलहरी राख्न लागेको हो। यसका लागि सरकारले रू ३० करोड दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन्। करिब एक अर्ब रूपैयाँ सुनको जलहरी बनाउन लाग्ने कोषले जनाएको छ । अरु रकम कोषले व्यवस्थापन गर्ने जनाइएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्