लेटेस्ट न्युज
advertisement1

इतिहासको कठघरामा एक योद्धाको बयान

Maryada News 2021-05-05 17:45:37
इतिहासको कठघरामा एक योद्धाको बयान

हो, ढाँट्दिन हजुर
इतिहासको यस कठघरामा उभिएर
सत्य-सत्य बोल्छु र निर्भयताका साथ बोल्छु
हजुरलाई विश्वास लाग्ला नलाग्ला
तर म रिठ्ठा नबिराई 
दूधको दूध बोल्छु/पानीको पानी बोल्छु 
हो हजुर म सत्य बोल्छु ।

जनयुद्धमा हिजो सेना हिँड्ने बाटोमा धराप थापेकै हौँ
दुश्मनहरु तर्ने पुल बम ब्लास्टिङ्ग गरेर भत्काएकै हौँ
दुश्मनको किल्लामा धावा बोलेकै हौँ

सेना/प्रहरीको ब्यारेक कब्जा गरेकै हौँ
भीषण लडाइँ लडेकै हौँ
सामन्तहरुको घरमा आगो झोसेकै हौँ
कीर्ते तमसुकहरू च्यातेर मज्जाले आगो तापेकै हौँ
मजदुरमारा पुँजीपतिहरुको कारखाना बन्द गरेकै हौँ
किसानहरूलाई जसको जोत उसको पोत भनेकै हौँ

वैज्ञानिक शिक्षाको माग गर्दै स्कुल/कलेज हडताल गरेकै हौँ
हो, हजुर
पुरानो राज्य व्यवस्थाविरुद्ध विद्रोह गरेकै हौँ
थोत्रा सडेगलेका सबै कुरा भत्काउन खोजेकै हौँ ।

रक्सीको नशामा स्वास्नी कुट्ने जड्याहा लोग्नेहरुलाई 
रातभर चिसो छिँडीमा सुताएकै हौँ
खुट्टा भए जुत्ता कतिकति भन्ने अहङ्कारी पुरुषविरुद्ध 
महिलाहरूलाई आन्दोलनमा उतारेकै हौँ
महिला पुरुष (मानव) समानताको कुरा गरेकै हौँ
आफूजस्तै मान्छेलाई अछुत भनेर छोइछिटो गर्ने 
कथित छुतहरुको भान्सामा 
अछुतहरुलाई भान्से बनाएकै हौँ
जातपात, छुवाछूत अन्त्यका लागि आन्दोलन गरेकै हौँ
अहोरात्र चोकमा जुवातास खेल्ने जुवाडेहरुलाई
तास च्यातेर मुखमा कोचेकै हौँ
व्यभिचारीहरुलाई जन अदालतमा उभ्याएकै हौँ
भ्रष्टाचारीहरुलाई सुम्ला बस्ने गरी भाटा लगाएकै हौं
अन्याय, अत्याचार, विकृति, विसंगतिविरुद्ध 
दश वर्ष युद्ध लडेकै हौँ
हो, हजुर
पुरानो राज्य व्यवस्थाविरुद्ध विद्रोह गरेकै हौँ 
थोत्रा सडेगलेका सबै कुरा भत्काउन खोजेकै हौँ।

सदियौँदेखिको नारायणहिटीको निरङ्कुशता अन्त्य गरेकै हौँ
सिंहदरबारको एकल शासनविरुद्ध 
पहिचानसहितको सङ्घीय राज्य मागेकै हौँ
जातीय/क्षेत्रीय विभेदविरुद्ध विद्रोह गरेकै हौँ
सदीयौँदेखि समाजको पिँधमा नि:शब्द बाँचिरहेका 
तमाम निर्धा निमुखाहरुको समानुपातिक प्रतिनिधित्व राज्यको हरेक अङ्गमा हुनैपर्छ भनेकै हौँ
सधैँ धनीले चुनाव जित्ने चुनाव प्रणालीविरुद्ध 
गरिबले पनि चुनाव जित्ने चुनाव प्रणाली मागेकै हौँ ।

बाहिर खसीको टाउको झुन्ड्याएर
भित्र कुकुरको मासु व्यापार गर्ने
कथित संसदीय लोकतन्त्रका विरुद्ध 
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली चाहियो भनेकै हौँ 
सहभागितामूलक प्रत्यक्ष लोकतन्त्र खोजेकै हौँ 
हो, हजुर 
पुरानो राज्य व्यवस्थाविरुद्ध भीषण लडाइँ लडेकै हौँ
बर्गीय, जातीय, क्षेत्रीय, उत्पीडनविरुद्ध विद्रोह गरेकै हौँ
स्वतन्त्रता, समानता र भातृत्वका लागि लडेकै हौँ ।

कहिल्यै कसैको पराधीनता नभोगेको
तर कहिल्यै स्वाधीन पनि हुन नसकेको
छिमेकीको विस्तारवादी हैकमका विरुद्ध 
विस्तारवाद-मुर्दावाद ! को नारा मात्रै होइन
कहिले कालापानीमा खुकुरी चम्काएकै हौँ
कहिले सुस्ता, महेशपुरमा मार्चपास गरेकै हौं 
त्यतिमात्र होइन हजुर, विस्तारवादविरुद्ध युद्ध गर्न
देशभरी सुरुङ पनि खनेकै हौँ 
हो, हजुर

छिमेकीको थिचोमिचोबाट देशलाई मुक्त बनाउन चाहेकै हौँ 
नेपाललाई पूर्ण स्वतन्त्र र स्वाधीन बनाउन खोजेकै हौं ।

भत्काउनु ध्वंस मात्रै थिएन हजुर
भत्काउनुको असली अर्थ नयाँ निर्माण गर्नु थियो
हिरोसिमा र नागासाकी खरानीकै थुप्रोमा ठडिएको हो
भियतनाम होस् या कोरिया/चीन होस् या रूस 
सबैसबै देशहरू ध्वंसबाटै निर्माण भएका हुन् 
ए हजुर !
मान्छेको बलिदान त इतिहासको ऊर्जा हो
ध्वंस उन्नत सभ्यता निर्माणको अपरिहार्य शर्त हो ।

हो, ढाँट्दिन हजुर
इतिहासको यस कठघरामा उभिएर
सत्य-सत्य बोल्छु/निर्भयताका साथ बोल्छु
हजुरलाई विश्वास लाग्ला नलाग्ला
तर म रिठ्ठा नबिराई सत्य बोल्छु 
ए हजुर !

पत्याउनुस् नपत्याउनुस् 
समस्या ध्वंसमा थिएन हजुर
समस्या बलिदानमा पनि थिएन हजुर
खास समस्या त 
ध्वंसको अगुवाई गर्नेहरूको मस्तिष्क ध्वंस हुनुमा थियो
निर्माण गर्छु भन्ने अगुवाहरू आफैँ भत्कनुमा थियो
बलिदानको ऊर्जा भर्नेहरु आफैको मृत्यु हुनुमा थियो ।

- गंगा मानव

(बैशाख २०७७)
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

66.67%

खुसी

0%

दुःखी

0%

अचम्मित

33.33%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्