डाेटीः कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समिति डाेटीले आज मङ्गलबार राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ। समितिकाे बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।
पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ यता जिल्लामा एक सय ७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ।
हालसम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्लामा सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी सङ्क्रमण फैलिएको छ।
भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधैँ गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना सङ्क्रमणको त्रास फैलिएको स्थानीयवासीले बताए।
प्रतिक्रिया