सर्लाहीः गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेकाे प्रकाेप बढेकाे छ। केही दिनयता सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप अत्याधिक बढेको छ।
गर्मीकाे समयमा लामखुट्टेको प्रकोप बढ्नु सामान्य भए पनि मलङ्गवा नगरपालिकाले समयमा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो। नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढदै गएको मलङ्गवाका स्थानीयवासी सुन्दरश्याम यादवले बताए।
सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा मलङ्गवा नगरपालिकाअन्तर्गतका १२ वटै वडा एकजुट भएर लाग्नुपर्ने अर्का स्थानीयवासी राजेश पासवानले बताए। उचित सरसफाइ हुन नसक्दा मलङ्गवा बजार क्षेत्र तथा टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ।
यता मलङ्गवा नगरपालिका–२ का स्थानीयवासी विजय साहले गत वर्ष नगरपालिकाले छर्केको औषधियुक्त धुवाँले पनि लामखुट्टेलाई केही फरक नपरेको बताए। स्थानीय बासिन्दाले यस वर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग राखेका छन्। उनीहरूले दैनिकीरुपमा सरसफाइ गर्नुपर्ने माग अघि सारेका छन् भने नगर प्रमुख निरसल साहले आफ्नो नगरपालिकाले राखेका सरसफाइकर्मीले नगर क्षेत्रको नियमित सरसफाई गरिरहेका बताएका छन्।
नगर प्रमुख साहले आफ्नो नगर क्षेत्रको लामखुट्टेको बढी प्रकोप हुने स्थानमा यस वर्ष पनि औषधि छर्किने बताएका छन्।नगरपालिकाले सकेको गर्दा गर्दै पनि लामखुट्टेको प्रकोप रोक्न सबै नगरवासी पनि सजग भएर लाग्नुपर्ने उनकाे भनाइँ छ।
प्रतिक्रिया