गुल्मीः जिल्लामा गत फागुन र चैत महिनामामात्र आगलागीमा परी चार जनाकाे निधन भयाे। आगलागीले दुई महिनामामात्र १५ घर जलेर नष्ट भए।
स्थानीय र परिवारजनकाे भने सधै एउटै गुनासाे रहने गरेकाे छ- समयमै दमकल आइदिएकाे भए चार जनाले अनाहकमा ज्यान गुमाउन पर्दैन थियाे। किनकी गत दुई महिनामा आगलागीमा परी ज्यान गुमाउने सम्पूर्णकाे उपचारकाे क्रममा निधन भएकाे हाे।
रेसुङ्गा नगरपालिका- २ बागमारेमा ६५ वर्षकी हरिकला परियारकाे आफ्नै घरमा आगो ताप्ने क्रममा आगाे शरिरमा सल्किँदा उपचारको क्रममा उनकाे निधन भएको थियाे। गुल्मी दरबार गाउँपालिका- १ कुर्लिचौरमा ४२ वर्षीय मनकुमारी कुमालको पनि खाना पकाउने क्रममा आगो सल्किरै उपचारका क्रममा निधन भएको थियाे।
यता धुर्कोट गाउँपालिका- ७ वाग्ला धाराखोली बले सल्ला सामुदायिक वनमा आगलागी हुँदा ९ वर्षीया संगिता परियारको निधन भएको थियो। छत्रकोट गाउँपालिका- १ हुँगामा ५२ वर्षकी मिना गाहाकाे पनि आफ्नै घरमा आगो ताप्ने क्रममा शरिर जलेपछि उपचारको क्रममा उनको निधन भएको थियाे।
दुई महिनामै आगलागीका यस्ता घटना भइरहँदा पनि स्थानीय तहले आगलागी नियन्त्रणका लागि दमकलको जोहो गर्ने तर्फ साेचेकै छैन। जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेकाे छ। १२ स्थानीय तहमा आगलागी नियन्त्रणका लागि भने जम्मा एउटा दमकल रहेकाे छ। पहाडी जिल्ला भएकाले भएकाे एउटै दमकल पनि समयमा आइनपुग्ने समस्या रहेकाे स्थानीय मुक्ति श्रेष्ठले बताए।
जिल्ला प्रशासन कार्यालय गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा आगलागी नियन्त्रणमा आफूहरूले जति अरुले नगरेकाे दावी गर्छिन्। उनी भन्छिन्- 'हामी प्रत्येक पालिकामा पुगेका छाैं। सचेतना कार्यक्रम चलाएका छाैं। आगलागी नियन्त्रणमा स्थानीय तहसँग हाम्राे निरन्तर रुपमा अन्तरक्रिया भइरहेकाे छ।'
यस्तै उनी व्यक्तिले घरमा आगाे ताप्दा हुने आगलागीका घटना न्यूनिकरण गर्न नसकिने बताएकी छिन्। उनी भन्छिन्-'व्यक्तिले घरमा आगाे ताप्दा आगाे लाग्छ। शरिरमा आगाे सल्किन्छ। अब के कदम चाल्ने प्रशासनले त्यस्ताे अवस्थामा?'
यता गुल्मी जिल्ला प्रशासनले दुई स्थानीय तह बराबर एक दमकल खरिद गर्ने निर्णय गरेकाे भए पनि हालसम्म लागू भने हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार हरेक पटक आगलागीका घटना हुनासाथ घटनाकाे समीक्षा हुने गरेकाे छ। दमकल खरिद गर्ने विषयमा छलफल चल्ने गरेकाे छ। खरिद गर्ने भन्ने बारे निर्णय पनि हुने गरेकाे छ। यद्यपि कार्यान्वयन भने हुन सकेकाे छैन।
उनी भन्छिन्- 'हाम्राे जिल्लामा जता जता आगलागी भए दमकलकाे प्रयाेग आउनै सकेकाे छैन। भीरालाे ठाउँमा, सुरक्षाकर्मी पनि दुई तीन घण्टा हिँडेर पुग्नुपर्ने ठाउँमा आगलागीकाे घटना भएकाे छ।'
उनले आगलागीका कतिपय घटनालाई ठूला समाचार बनाइएकाे पनि बताइन्। 'सामुदायिक वनमा लागेकाे आगाे खरले छाएकाे गाेठतिर सल्केर मान्छे नबस्ने घरमा पुगेकाे कुरालाई अहाे बङ्गलामा आगाे लाग्याे भनेर समाचार आउँछ', उनले भनिन्।
यता जनप्रतिनिधिले पनि दमकलभन्दा विलासी गाडीलाई नै प्राथमिकतामा राखेका छन्। उनीहरू कराेडाैं मूल्य पर्ने सरकारी गाडी किन्नमा अघि देखिए पनि दमकल खरिद गर्ने विषय भने छलफलमा राख्ने तर ठाेस प्रकृया अघि नबढाउने गरेका स्थानीयले आराेप लगाएका छन्।
गुल्मीमा पटक पटक आगलागीका घटना दाेहाेरिने गरेका छन्। विशेषतः फागुन चैतमा लाग्ने आगलागीमा परी वर्षेनी थुप्रैले ज्यान गुमाउँदै आएका छन्।
प्रतिक्रिया