काठमाडाैंः उपत्यकाको सवारी व्यवस्थापनका लागि सडक विभागले थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ। चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ।
उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान गरिने विभागले जनाएको छ। पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा ट्राफिक बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए।
ट्राफिक बत्तीका केही सामान आएको र केही आउने क्रममा रहेको छ। ओझाकाअनुसार सामान आएकामा त्यसको ‘प्रोग्रामिङ’ भइरहेको छ। यी बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता पनि भइसकेकाे छ।
विभागले हालसम्म उपत्यकामा १९ स्थानमा ट्राफिक बत्ती जडान गरिसकेको छ। ठाउँठाउँमा उपत्यकाका पालिकाले राखेका पनि बत्ती छन्। यी सबै बत्तीमा कुन बत्ती कति समय बल्ने भनी व्यवस्थापनको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ।
विभागले थप ६-७ स्थानमा बत्ती राख्ने योजना बनाएको छ। चक्रपथको कोटेश्वरबाट–कलङ्की खण्डमा ट्राफिक बत्ती जडानको काम आगामी आवमा हुनेछ। काठमाडौँ उपत्यका बाहिर पनि पोखरा नगरपालिकाले एक ठाउँमा ट्राफिक बत्ती जडान गरिसकेको छ। वीरगञ्जमा पनि जडान गरिने योजना बनाइएको छ।
प्रतिक्रिया