चितवनः भरतपुर महानगरपालिका– १ ठिमुरा र देवघाट गाउँपालिका– ५ घिनटार जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको छ। मङ्गलबार बिहान करिब ४ बजे पुल भत्किएको हो।
दुई सय २० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको करिब ८० मिटर लम्बाइ पट्टि भत्किएको छ। प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किँदा अर्को बनिसकेको ४० मिटर भागसमेत भत्किएको छ। निर्माणाधीन पुलकाे भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको थियाे। आउँदो असारमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारीमा रहेको पुल आज भत्किएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीकाअनुसार इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर पुल बनाउँदै थिए। पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको हाे।
पुलकाे शिलान्यास करिब ७ वर्षअघि नै गरिए पनि हालसम्म निर्माणसम्पन्न भइसकेकाे थिएन। २०७० साल कात्तिक २० गते १९ करोड ३१ लाख रूपैयाँ लागतमा पुल निर्माणकाे सम्झौता भएको थियो। पछि पुलकाे डिजाइन परिवर्तन गर्दै लागत पनि बढाइएकाे थियाे।
यस्तै पुल भत्किनुमा भूकम्पकाे असर रहन सक्ने बताइएकाे छ। साेमबार राति भारत केन्द्रबिन्दु भएर गएकाे भूकम्पकाे कम्पनले सेटिङकै क्रममा रहेकाे पुलमा धक्का पर्दा पुल भत्किएकाे हुन सक्ने सडक डिभिजनका प्रमुख अधिकारीले बताए। उनले प्राविधिक टाेलीले अनुसन्धान गरेपछिमात्र प्रष्ट रुपमा बताउन सकिने भन्दै प्रारम्भिक अनुसन्धानमा भूकम्प कारण रहेकाे बताएका छन्।
प्रतिक्रिया