काठमाडौँ : त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु–२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् ।
त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न नेपाल आएको किर्गिस्तानको यु–२३ टोलीले आर्मी क्लबसित मैत्रीपूर्ण खेल खेलेको हो । दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । दुवै टोलीले गोल गर्ने मौका पाए पनि सफल भने हुन सकेनन् । खेलको पहिलो मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठले गोलपोष्टमा हानेको बल किर्गिस्तानका गोलकिपर प्रिएदकिन अर्तेमले रोके ।
यस्तै खेलको २६औँ मिनेटमा किर्गिस्तानका तर्फबाट अभिलोभ अर्नाजले गोल गर्ने उत्कृष्ट मौका गुमाउनुभयो । मध्यान्तरअघिको खेल सकिनै लाग्दा आर्मीका विवेक बस्नेतले गोल गर्ने प्रयास गर्नुभएको तर उनीगोल गर्नबाट चुके । यसैगरी खेलको ७३औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठ गोल गर्नबाट वञ्चित भए । यस्तै किर्गिस्तानले खेलको ८६औँ मिनेटमा गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास पनि असफल भयो । मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीबाट गोलका प्रयास भएका थिए ।
किर्गिस्तान त्रिदेशीय प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो । आफ्नै खेलाडीले आत्मघाती गोल गरेपछि किर्गिस्तान पराजित हुन पुगेको हो । नेपालले किर्गिस्तान र बंगलादेशसित गोलरहित बराबरी खेलेको थियो । नेपालले अब सोमबार बंगलादेशसँग दशरथ रंगशालामा फाइनल खेल खेल्ने छ । उक्त खेल साँझ ५ बजेर ३० मिनेटमा शुरु हुने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
प्रतिक्रिया