काठमाडौं : आयोजना सुरु भएको झण्डै २२ वर्षपछि मेलम्चीको पानी आइतबारदेखि काठमाडौंका धारा–धारामा
आउँदैछ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको मेलम्चीको पानी काठमाडौंमा आइपछि बर्षौदेखिको काठमाडौंको पानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
गत फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा सुरुङमार्फत् मेलम्चीको पानी झारिएको थियो । आयोजनाका अनुसार यही चैत १५ गते अर्थात् आइतबारदेखि नै पानी परीक्षणका रूपमा घरका धारा–धारामा पुर्याइने भएको हो । पहिलो साता साढे आठ करोड र त्यसपछि साढे आठ करोड लिटर गरी १७ करोड लिटर धारामा पठाउने आयोजनाले बताएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको हो । आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी छ ।
भृकुटी मण्डपस्थित जडित नयाँ धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने छन् । खानेपानी वितरणका लागि अन्तिम परीक्षण बाँकी नै छ । पहिलो चरणमा पुरानै पाइपबाट पानी पठाइनेछ । हाल उपत्यकाभित्र ८० हजार नयाँ धारा जडान गर्नुपर्ने अवस्था रहेको पनि आयोजनाले जानकारी दिएको छ । आइतबार काठमाडौंमा मात्र मेलम्चीको पानी वितरण हुनेछ भने दुई सातापछि भक्तपुरमा छाडिने जनाइएको छ ।
प्रतिक्रिया