लेटेस्ट न्युज
advertisement1

वालिङसहित तिलोत्तमा र कन्काई सर्वोत्कृष्ट नगरपालिका  

Maryada News 2021-03-24 20:11:24
वालिङसहित तिलोत्तमा र कन्काई सर्वोत्कृष्ट नगरपालिका  

वालिङ :  स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट भई पुरस्कृत भएको छ । शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो । नेपाल नगरपालिका सङ्घको २८ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणलाई सर्वोत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गरेका हुन् ।     
     
सर्वोत्कृष्ट नगरपालिका घोषणा भएसँगै प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिए । “वालिङ नगरपालिका नेपाल नगरपालिका सङ्घ, विभिन्न दातृ निकायसँग हातेमालो गर्दै विकासको गतिमा अगाडि बढिरहेको छ”, उनले भने, “हामीले गरेको कार्य देशभरकै सर्वोत्कृष्ट रहेको भनी मूल्याङ्कन गर्नुहुने मूल्याङ्कनकर्ताप्रति नगरपालिकाको तर्फबाट आभार व्यक्त गर्दछु ।”     
     
नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै आगामी वर्षहरुमा थप बजेट विनियोजन भएर आउने नगर प्रमुख खाँणले बताए । वालिङ नगरपालिकाले शहरी विकासका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी विगत दुई वर्षदेखि कार्यान्वयनका चरणमा रहेको नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताए ।     
     
नगरपालिकाले यहाँका नागरिकलाई विपद्जन्य जोखिमका कारण हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि निरन्तर कार्य गर्दै आइरहेको र वर्षायाममा जोखिम सम्भावित बस्तीका नागरिकलाई नजिकैको विद्यालयमा स्थानान्तरण गर्ने कार्य गरिएको उनले बताए। पहिरोका कारण विस्थापित परिवारकालागि स्थानीय तहमै व्यवस्थापनका लागि समिति गठन गरी व्यवस्थापनमा नगरपालिका रहेको उनको भनाइ थियो ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्