सर्लाहीः किसानले सिजनको अन्तमा गोलभेँडाकाे उचित मूल्य पाएका छन्। केही हप्तायता अचानक मूल्यमा ओरालो लागेको गोलभेँडाले सिजनको अन्त्यमा फेरि भाउ पाएपछि जिल्लाका तरकारी उत्पादक किसान पनि खुशी भएका छन्।
जिल्लाको लालबन्दी नगरपालिका–७ मा रहेको तरकारी बजारमा स्थानीय जातको गोलभेँडा प्रतिक्रेट रू दुई सय ५० देखि रू तीन सयसम्म पर्ने गरेकाे छ भने उन्नत जातको गोलभेँडा रू चार सयमा बिक्री भइरहेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष रामदरेश चौधरीले बताए।
केही दिन अघि बजारमा प्रतिक्रेट एक सय ५० देखि दुई सयमा गोलभेँडा बिक्रि भए पनि सिजनको अन्त्यमा गोलभेँडाको बजारमूल्य अकाशिएको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले बताए।
गोलभेँडाको मूल्य घटेपछि आफ्नो लगानीसमेत नउठ्ने चिन्तामा परेका यस क्षेत्रका किसान अन्त्यमा भए पनि गोलभेँडाको मूल्य बढेपछि दङ्ग परेका छन्। सिजनमा किसानले प्रतिक्रेट रू एक हजारसम्म गोलभेँडाको मूल्य पाएका थिए। त्यसपछि विस्तारै भाउ घट्दै गएको व्यवस्थापक घिमिरेले बताए।
जिल्लाको लालबन्दी, हरिपुर, बयलवास र हरिवन नगरपालिकाका स्थानीयवासी तरकारी उत्पादक किसानले व्यावसायिक रुपमा गोलभेँडाको खेती गर्ने गरेका छन्। यहाँ उत्पादन भएका गोलभेँडा काठमाडौँ, पोखरा, विराटनगरलगायत देशका विभिन्न ठूला शहरको साथै भारतको सीतामाढीसम्म निर्यात हुँदै आएको घिमिरेले बताएका छन्।
प्रतिक्रिया