काठमाडौं । केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्नेहरू देश विरोधी हुन्’ भन्दै अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्ति सामाजिक सञ्जालभर छाएको थियो ।
धेरैले सो अभिव्यक्तिप्रति आपत्तिपनि जनाए । यद्यपी नेपालका राजनीतिक दलले संस्थागत आपत्ति भने देखाएका थिएनन् ।
सोमबार भने नेपाली कांग्रेसले सो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको तर्फबाट सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको सो अभिव्यक्ति अलोकतान्त्रिक भएको बताएका छन् ।
‘फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ ।’
सर्वाेच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयन्त भएको विज्ञप्तिमा उल्लेख छ । ‘सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो,’ विज्ञप्तिमा भनिएको छ, ‘आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशलाई ‘अजासु’ भनेर टिप्प्णी गर्नु अभिव्यक्ति स्वन्तत्रताविरुद्धको बर्बराहट हो ।
कांग्रेसले प्रतिनिधिसभा विघटन भएदेखि नै सो कार्यको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यस्तै कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको विरोधमा उठेको स्वरलाई देशद्रोही भन्दै गैरजिम्मेवार ढंगले लान्छना नलगाउन समेत कडा चेतावनी दिएको छ ।
प्रतिक्रिया