एजेन्सीः टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा तीन हजार रन पुरा गर्दै भारतीय ब्याट्सम्यान विराट कोहलीले किर्तिमान रचेका छन्। उनी याे काेशेढुंगा पार गर्ने पहिलो पुरुष खेलाडीसमेत बनेका छन्।
इंग्ल्याण्डविरुद्धकाे दोस्रो टी ट्वेन्टीमा विराटले ४९ वलमा अविजीत ७३ रन जोड्दै यो सफलता हात पारेका हुन्।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो। जवाफमा भारतले १७ दशमलब ५ ओभरमा तीन विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो।
पहिलो टी ट्वेन्टी हारेको भारतले दोस्रो खेलमा भने इंग्ल्याण्डलाई सात विकेटले पराजित गर्यो। जितसँगै भारतले पाँच खेलको श्रृङ्खलामा एक एकको बराबरी गरेकाे छ।
टी ट्वेन्टीमा तीन हजार रन बनाउने काेहली समग्रमा भने तेस्रो खेलाडी हुन्। महिला तर्फ यसअघि नै न्युजील्याण्डकी सुजी बेट्स र वेस्ट इन्डिजकी स्टेफानी टेलरले तीन हजार रन पुरा गरिसकेका छन्।
भारत र इंग्ल्याण्डबीच तेस्रो टी ट्वेन्टी नेपाली समयअनुसार मंगलबार साँझ ७ः१५ मा हुनेछ।
प्रतिक्रिया