काठमाडौँ : उपभोक्ता अधिकार संरक्षण गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक क्रियाकलापलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सदैव क्रियाशील रहेको जनाएको छ ।
शुक्रबार यहाँ आयोजित कार्यक्रममा विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक बजार अनुगमनलाई निरन्तरता दिइएको बताए । “दिनमा तीन/चार टोलीलाई बजार अनुगमनमा खटाएका छौँ । विभागको क्षमताअनुसार हामीले बजारलाई व्यवस्थित बनाउने कोशिस गरिरहेका छौँ”, विभागका पर्याप्त जनशक्ति नहुँदा अनुगमनलाई व्यापक बनाउन नसकिएको उनको गुनासो थियो ।
सुशासन र बजार अनुगमनलाई प्रभावकारी बनाउन अधिकारकर्मी, सचेत उपभोक्ता र सम्बन्धित निकायबीच सहकार्यको आवश्यकता रहेको उनको भनाइ थियो। अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कानूनविपरीत कालोबजारी गर्ने निकायलाई कानूनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार सागर पण्डितले चाडबाडका बेलामात्र बजार अनुगमन गर्ने प्रवृत्ति अन्य गर्नुपर्नेमा जोड दिँदै दशैँतिहारमा मात्र प्रशस्त अनुगमन हुने तर अरु बेला किन नहुने भनी प्रश्न उठाए।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले उपभोक्ता ऐन, २०७५ ले उपभोक्ता अधिकारकर्मीलाई नचिनेको गुनासो गरे । “उपभोक्ता ऐनले वाणिज्य विभागलाई मात्र चिन्छ । बजार अनुगमन र कारवाहीको जिम्मेवारी विभागका निरीक्षण अधिकारीलाई दिएको छ । सुशासनको प्रत्याभूति दिने प्रमुख जिल्ला अधिकारीले अधिकार प्रयोग गर्न पाएका छैनन्”, उनले भने ।
प्रतिक्रिया