एजेन्सी : अँध्यारोमा चम्किने क्षमताको शार्क फेला परेको छ । न्यूजिल्याण्डको तट नजिकै गहिरो समुद्रमा रहेका शार्कका तीन थरी प्रजातिमा अँध्यारोमा चम्किने क्षमता रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। गत वर्षको ज्यानुअरीमा शार्कका ती प्रजातिको नमुना न्यूजिल्याण्डको पूर्वमा अवस्थित समुद्रको पिँध नजिकबाट सङ्कलन गरिएको जनाइएको छ ।
बीबीसीका अनुसार काइटफिन शार्क भनिने तीमध्ये एक प्रजाति हालसम्म थाहा भएकोमध्ये सबैभन्दा ठूलो प्रकाशधारी प्राणी भएको छ जसको लम्बाइ १८० सेन्टिमिटरसम्म हुन्छ। त्यस्तै अन्य दुई प्रजाति ब्ल्याकबेली ल्यान्टर्नशार्क र शदर्न ल्यान्टर्नशार्क भनिनेमा पनि जैविक प्रकाशधारी क्षमता देखिएको पुष्टि भएको बताइएको छ ।
वैज्ञानिकहरूलाई ती समुद्री जीव तीनै प्रजातिका बारेमा पहिले नै ज्ञान भए पनि ति प्रजातिले प्रकाश पनि प्रकट गर्नेबारे भने उनीहरुले हाल मात्र प्रमाणित गरेका हुन् । शार्कजस्ता ठूला जनावरमा पनि आफै प्रकाश सिर्जना गर्न सक्ने क्षमता हुन्छ भन्ने पत्ता लागेको यो पहिलो पटक रहेको बताइएको छ ।
प्रतिक्रिया